सर्लाही, २४ चैत । सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समितिका नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाही क्याम्पसद्वारा सोमबार क्याम्पसको सभाहलमा आयोजित एक औपचारिक समारोहबीच सञ्चालक समितिका नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

गत चैत १७ गते सम्पन्न क्याम्पसको पाँचौं साधारणसभाबाट सर्वसम्मत रूपमा चयन भएका सञ्चालक समितिका अध्यक्ष नागेश्वर राय यादव तथा सदस्यहरू रमेश लाल कर्ण, सत्य प्रकाश यादव र धर्मेन्द्र यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण कार्यक्रमका अध्यक्ष तथा श्री कृष्णामति देवी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक महेन्द्र लाल कर्णले नवनिर्वाचित अध्यक्ष नागेश्वर राय यादवलाई सपथ ग्रहण गराएका थिए ।

त्यसपछि अध्यक्ष यादवले सदस्यहरू रमेश लाल कर्ण, सत्य प्रकाश यादव र धर्मेन्द्र यादवलाई सपथ ग्रहण गराएका थिए । यसैगरी सर्लाही क्याम्पसका प्रमुख राजेश कुमार यादवको सिफारिसमा पंकज कुमार झा र लालकिशोर भण्डारीलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको छ ।

उनीहरूलाई समेत अध्यक्ष यादवले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा वक्ताहरूले, क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विस्तार तथा व्यवस्थापन पक्षको सुदृढीकरणमा नवनिर्वाचित समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम समापन पश्चात् नवनिर्वाचित अध्यक्ष यादवले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

अध्यक्ष यादवले संचालक समितिको जिम्मेवारी सम्हाल्दै आफ्नो कार्यकाल प्रारम्भ गरेका हुन् । पदभार ग्रहणपछि उनले क्याम्पस हाताभित्र निर्माणाधीन भवनको निरीक्षण समेत गरेका थिए ।

निरीक्षणका क्रममा निर्माण कार्यको प्रगति, गुणस्तर तथा समयमै सम्पन्न गर्ने विषयमा उनले चासो व्यक्त गरेका थिए । सञ्चालक समितिको कार्यकाल चार वर्षको रहने व्यवस्था रहेको छ ।

नवनिर्वाचित अध्यक्ष यादवको भने यो दोस्रो कार्यकाल हो । पुर्व प्रधानाध्यापक महेन्द्र लाल कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूका साथै सामाजिक अभियन्ता, शिक्षाविद्, जनप्रतिनिधि, क्याम्पस प्रमुख, प्राध्यापक, नागरिक समाज, बुद्धिजीवी, कर्मचारी, कृषक वर्ग, पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो । भने कार्यक्रमको उद्घोषण सुरेन्द्र रायले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *