सर्लाही, २४ चैत । सर्लाही सदरमुकाम मलंगवामा प्रहरीले नापी, मालपोत तथा यातायात कार्यालयमा लेखापढी र सहजीकरण गर्दै आएका व्यक्तिमाथि धरपकड अभियान सुरु गरेको छ ।
आइतबार सदरमुकाम मलंगवास्थित मालपोत कार्यालयबाट ७ जना र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउको विरोधमा सरकारको पछिल्लो निर्णय कार्यान्वयनसँगै लेखापढी व्यवसायीहरूले सोमबार ‘पेन डाउन’ गर्दै काम बन्द गरेका छन् । मालपोत कार्यालय बाहिर बसेर सेवा दिँदै आएका उनीहरूले काम ठप्प पार्दा लेखापढी तथा अनलाइन इन्ट्री सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।
यसका कारण नापी र मालपोत कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीहरू समस्यामा परेका छन् । सेवाग्राहीहरूले लेखापढीमार्फत हुँदै आएको कामका लागि तत्काल वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
कार्यालयभित्र प्रवेशमा रोक लगाएपछि लेखापढी व्यवसायीहरू आन्दोलित बनेका हुन् । अत्यावश्यक कामका लागि कार्यालय पुगेका नागरिकहरूले सेवा नपाउँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।
