सर्लाही, २५ चैत । सर्लाही सदरमुकाम मलंगवामा पहलाे पटक ‘एकता र स्वास्थ्य हाम्रो साझा लक्ष्य’ भन्ने नारासहित ७८ औँ विश्व स्वास्थ्य दिवस २०२६ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । स्वास्थ्यकर्मी, विभिन्न संघ–संस्था तथा सरोकारवालाको सहभागितामा दिवस मनाइएको हो ।

फ्रन्टलाइन डाक्टर्स नेपाल मधेशको आयोजनामा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रमा एकता, सहकार्य र वैज्ञानिक दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । दिवसको अवसरमा जनचेतनामूलक र्यालीसँगै विशेष म्याराथन कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

सदरमुकाम मलंगवा–१० स्थित तिनबिघे मैदानबाट सुरु भएको दौडमा स्वास्थ्यकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। म्याराथनतर्फ पुरुष र महिलातर्फ प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पुरुषतर्फ प्रथम स्थान हासिल गर्ने डा. पुरुषोत्तम प्रसाद यादव र महिलातर्फ प्रथम हुने रिता कुमारी सिंहलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

त्यस्तै, पुरुषतर्फ दोस्रो हुने सर्लाही मेडिकेयर प्रा.लि.का गोविन्द कुमार साह र महिलातर्फ दोस्रो हुने तिरुपति बालाजी पोलिक्लिनिक प्रा.लि.की बबिता कुमारी यादवलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिएको छ ।

पुरुषतर्फ तेस्रो हुने विष्णु गाउँपालिकाका स्वास्थ्यकर्मी सरोज कुमार यादव र महिलातर्फ तेस्रो हुने प्रादेशिक अस्पतालकी रञ्जना कुमारी यादवलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रम सफल बनाउन सुमित कुमार पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, सर्लाही मेडिकेयर प्रा.लि., तिरुपति बालाजी पोलिक्लिनिक प्रा.लि. र जगदम्बा पोलिक्लिनिक प्रा.लि. लगायतका स्वास्थ्य संस्थाहरूले सह–प्रायोजन गरेका थिए ।

कार्यक्रमका सहजकर्ता एवं संयुक्त सचिव डा. पुरुषोत्तम यादवका अनुसार विभिन्न पक्षको सहकार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रममा प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रामप्रकाश साहले स्वास्थ्य सेवामा सुधार, जनचेतना अभिवृद्धि तथा आपसी समन्वय बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *