सर्लाही, २६ चैत्र । नयाँ प्रतिनिधिसभा बनेपछि रास्वपा नेतृत्वको सरकारलाई सदन र बाहिरबाट छिनछिनमा खबरदारी गर्ने व्यक्ति हुन्– हर्क साम्पाङ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङ छिनछिनमा समाजिक सञ्जालमा प्रकट भएर सरकार र रास्वपाका कार्यशैलीमाथि प्रश्न गर्छन् ।

विपक्षी बेन्चमा बसेर सरकारलाई खबरदारी गर्ने साम्पाङ नेतृत्वको पार्टीलाई रास्वपाले भने उपसभामुख समर्थन गर्ने निर्णय गरेको छ ।

संसदमा पहिलोटक नयाँ शक्तिको रुपमा प्रवेश गरेको श्रम संस्कृतिलाई प्रतिनिधिसभाको उपसभामुख जस्तो विशिष्ट पद मिलेको हो ।

सात जना सांसद रहेको यो पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर उपसभामुख बन्ने करिब निश्चित छ । किनकी रास्वपाको समर्थन पाउने बित्तिकै उनको पक्षमा संसद्को दुई तिहाई भन्दा बढीको समर्थन हुन्छ ।

नयाँ चुनावपछि परिवर्तनकारी शक्तिहरूबीच मिलेर जान श्रमसंस्कृतिलाई समर्थन गरेरको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाबाट प्रतिनिधिसभाको सभामुख भएकाले संवैधानिक प्रावधान अनुसार  अर्को दल र लिंगको व्यक्तिलाई उपसभामुख  बन्नुपर्छ । त्यही आधारमा रास्वपाले श्रम संस्कृति कि राप्रपा कसलाई समर्थन गर्ने भन्ने दोहोरो छलफल चलिरहेको थियो ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले केही दिन अघि रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए । त्यसक्रममा उपसभामुखका एकअर्कालाई समर्थन गर्नेबारे कुराकानी भएको थियो ।

बिहीबार पनि रास्वपा सभापति लामिछानेसँग कुरा भएको र त्यसक्रममा राप्रपालाई समर्थन गर्ने आवश्वासन पाएको शाहीले ज्ञानेन्द्रबहादुर शाहीले बताएका थिए ।

रविसँग कुरा गरेपछि राप्रपाका नेताहरू  सरस्वती लामालाई उपसभामुख बनाउने निर्णय गर्नका लागि बैठकमा गए ।

यता श्रम संस्कृति पार्टीसँग पनि रास्वपाको कुराकानी चलिरहेको थियो । रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग हर्क साम्पाङको कुरा हुने गरेको थियो ।

राप्रपा उता बैठक गरिरहेको बेला  कविन्द्र बुर्लाकोटीसहितका रास्वपा नेताहरू श्रम संस्कृति पार्टीसँग छलफलमा थिए । उक्त छलफलमा श्रम संस्कृतिलाई सहयोग गर्ने निर्णय रास्वपा नेताहरूले सुनाए ।

राप्रपा नेताहरू सरस्वती लामाको नाम लिएर उम्मेदवारी दर्ता गर्न आउँदा श्रम संस्कृतिकी रबिकुमारी ठाकुर लगायतका सांसद फारम लिएर बसिरहेका थिए ।

राप्रपाले शुरूमा आफ्नै सांसदहरू प्रस्तावक र समर्थक राखेर सरस्वती लामाको नाम दर्ता गरायो । त्यसपछि  छलफलमा रहेका रास्वपाका कविन्द्र बुर्लाकोटी र श्रमसंस्कृतिका आरेन राई लगायतका नेताहरू उम्मेदवारी दर्तास्थलमा आए रुबीको उम्मेदवारी दोस्रो नम्बरमा दर्ता भयो ।

रास्वपाको आवश्वासनपछि उम्मेदवारी दर्ता गरेको दाबी गर्ने राप्रपा संसदीय दलका नेता शाहीले ‘किन समर्थन गर्ने आश्वासन दिएको ? भन्दै रवि लामिछानेलाई नै प्रश्न गरेका छन् ।

उम्मेदवारी दर्तापछि शाहीले संसद् सचिवालयमा पत्रकारहरूसँग भने,’उहाँहरूले बोलेको इमान कति पुरा गर्नुहुन्छ हामी हेर्छौं ।‘

शाही यसो भने पनि अब रास्वपा औपचारिक समर्थन रूबीलाई भएकाले उनी नै उपसभामुख बन्ने निश्चित जस्तै छ । किनकी रास्वपा र श्रमसंस्कृति मिल्दा प्रतिनिधि सभामा १८९ सिट हुन्छ । यो प्रतिनिधिसभाको दुई तिहाइ  बढीको  समर्थन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *