सर्लाही, २६ चैत । जेन–जी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज थुनामुक्त हुने सम्भावना छ ।
दुवै नेताविरुद्ध अब म्याद थप नगर्न भन्दै सर्वोच्च अदालतले दिएको परमादेशका आधारमा उनीहरू रिहा हुने सम्भावना छ ।
तर आजै प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतलमा अभियोजन दर्ता गरी थुनछेक बहससमेत सुरु भएका खण्डमा भने ओली र लेखक तत्काल रिहा हुने छैनन् ।
त्यसपछि भने उनीहरू रिहा हुने–नहुने विषय सम्बन्धित अदालतले तय गर्नेछ । थुनछेक बहसपछि अदालतले थुनामा पठाउने, धराैटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्नेमध्ये एक आदेश दिन सक्छ ।
ओली र लेखकविरुद्ध जिल्ला अदालत काठमाडौंले तेस्रोपटक ५ दिनको लागि लिएको म्याद आज सकिन लागेको हो । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रहरीले १४ चैतमा अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
