सर्लाही, २६ चैत्र । हरिद्वारबाट नेपालतर्फ आउँदै गरेको ‘नेपाल–भारत मैत्री सेवा’ को बस  दुर्घटनामा परेको छ ।

आज बिहान करिब २ बजे उत्तराखण्डको गदरपुर गोपाल नगर टी-जंक्सन नजिकै अनियन्त्रित भई सडकबाट तल खेतमा खसेर बस पल्टिएको हो । युके १००५३ नम्बरको उक्त बसमा चालक दलका सदस्यसहित जम्मा ६५ जना सवार थिए, जसमा अधिकांश यात्रु नेपालको दाङ जिल्लाका रहेको खुलेको छ ।

दुर्घटनाको समयमा पानी परिरहेको र चालकलाई निद्रा लागेका कारण बस अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । बस पल्टिएपछि यात्रुहरूबीच भागाभाग र कोलाहल मच्चिएको थियो भने धेरै यात्रुहरू भित्रै फसिरहेका थिए ।

गदरपुर कोतवालीका प्रहरी प्रमुख सञ्जय पाठकका अनुसार, दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी र आपतकालीन सेवा (११२ र १०८ एम्बुलेन्स) घटनास्थलमा पुगेका थिए ।

स्थानीय बासिन्दाको सहयोगमा बसको झ्यालका सिसाहरू फुटाएर भित्र फसेका यात्रुहरूको उद्धार गरिएको थियो ।

दुर्घटनामा परी घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइते हुनेहरूमा नव्या नामकी एक महिने बालिकासमेत छिन् ।

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेकाले उनीहरूलाई थप उपचारका लागि रुद्रपुरस्थित ठूलो अस्पतालमा रिफर गरिएको छ। दुवै नेपाली हुन् । अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि अन्य यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ। बस सञ्चालकलाई यसबारे जानकारी गराइसकिएको छ र यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन अर्को बसको व्यवस्था गरिँदैछ ।

राजमार्ग अधिकारीहरूले क्रेनको सहयोगमा दुर्घटनाग्रस्त बसलाई हटाएका छन् र अहिले यातायात सुचारु छ। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *