सर्लाही,२६ चैत्र । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा दुई दिन सार्वजनिक बिदा दिने संघीय सरकारको निर्णयलाई परिमार्जन गर्दै सातामा एक दिन मात्र बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले आइतबारको बिदा कटौती गरी शनिबार मात्र सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
चार दिन अघि बालेन शाह नेतृत्वको केन्द्रीय सरकारले सातामा २ दिन विदा दिने निर्णय गरेको थियो।
गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दिपेन) का अनुसार अब आइतबारदेखि शुक्रबारसम्मै कार्यालयहरू नियमित सञ्चालन हुनेछन्। सरकारी कार्यालयहरूमा धेरै बिदा हुँदा सेवाग्राही मर्कामा परेको र प्रशासनिक काम सुस्त भएको जनगुनासो आएपछि यस्तो निर्णय लिइएको उनले बताए। ‘धेरै बिदाका कारण सेवाग्राहीले सास्ती भोग्नुपर्ने अवस्था देखियो,’ अध्यक्ष पोमूले भने, ‘त्यसैलाई न्यूनीकरण गर्न र सेवा प्रवाहलाई चुस्त बनाउन सातामा ६ दिन कार्यालय खोल्ने निर्णय गरेका हौँ।’
गाउँपालिकाले कार्यालय समय भने यथावत राखेको छ। जसअनुसार कर्मचारीहरू बिहान १० देखि साँझ ५ बजेसम्म कार्यसम्पादनमा खटिनुपर्नेछ। बिदाको दिनमा समेत अत्यावश्यक कार्य सम्पादन गर्नुपर्ने अवस्था आएमा कर्मचारीलाई प्रोत्साहन भत्ता (इन्सेन्टिभ) उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यसले सेवाग्राहीलाई कुनै पनि बेला सहज रूपमा सेवा लिन मद्दत पुग्ने गाउँपालिकाको विश्वास छ।
पेट्रोलियम पदार्थको बजारभाउ आकासिएपछि संघीय सरकारले परीक्षणका रूपमा सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।
