सर्लाही, २६ चैत । करिब ६ दशकसम्म राजनीतिको केन्द्रमा रहेर पाँच पटक प्रधानमन्त्रीसमेत भइसकेका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक यात्रा दुखान्त मोडमा पुगेको छ ।
सरकारले देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि मंगलबार पक्राउ पुर्जी जारी गरेको छ । देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन सुरु भइसकेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले देउवा परिवारका नाममा भएको चल–अचल सम्पत्ति पनि रोक्का गरिसकेको छ । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ ।
हाल विदेशमा रहेका उनीहरूलाई रेड नोटिस जारी गरी नेपाल ल्याउने प्रक्रिया थाल्न पक्राउ पुर्जी जारी गरिएको हो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अब रेड नोटिसको प्रक्रिया अब अघि बढ्छ ।’
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा देउवा दम्पतीमाथि पक्राउ पुर्जी जारी गरिएको हो । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले मंगलबार पक्राउका लागि अनुमति दिएको हो ।
देउवा दम्पती भने निर्वाचन अघि नै सिंगापुर उडेका थिए । १३ फागुनमा देउवा र उनका प्रमुख स्वकीय सचिव एवं भतिज भानु देउवा सिंगापुर उडेका थिए ।
त्यसको तीन दिनअघि दिल्ली गएकी आरजु स्वदेश नफर्की त्यतैबाट सिंगापुर गएकी थिइन् । केही समयअघि उनको निजी सचिवालयले सिंगापुरबाट हङकङ गएको जानकारी गराएको थियो ।
