सर्लाही, २६ चैत । बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो चलचित्र ‘धुरन्धर २’ ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको २० दिनभित्रै चलचित्रले भारतमा मात्र १,०३३.३७ करोड भारुको नेट कलेक्सन गर्दै ऐतिहासिक सफलता हात पारेको हो ।

यो कमाइसँगै ‘धुरन्धर २’ ले एसएस राजामौलीको सदाबहार ब्लकबस्टर ‘बाहुबली २’ को घरेलु कलेक्सन (१,०३०.४२ करोड) लाई समेत उछिनेको छ । अब यस चलचित्रको अगाडि अल्लु अर्जुनको ‘पुष्पा २’ को मात्र रेकर्ड बाँकी छ ।

भारतमा सबैभन्दा बढी कमाउने चलचित्रको कीर्तिमान रच्न ‘धुरन्धर २’ अझै २००.६३ करोड रुपैयाँले पछि छ । ‘पुष्पा २’ को भारतमा कुल नेट कलेक्सन १,२३४.१० करोड रहेको छ । विश्वव्यापी व्यापारको कुरा गर्दा रणवीरको यो चलचित्रले अहिलेसम्म १,६४१.२१ करोड ग्रस कलेक्सन गरिसकेको छ, जसमा वैदेशिक बजारको योगदान ४०४ करोड रुपैयाँ छ ।

बक्स अफिस विश्लेषणका अनुसार यो चलचित्र हिन्दी भाषी क्षेत्रमा निकै बलियो देखिएको छ। हिन्दी बजारबाट मात्र यसले ९६०.५४ करोड कमाएको छ, जुन ‘पुष्पा २’ को हिन्दी संस्करणको बराबर जस्तै हो ।

यद्यपि, दक्षिण भारतीय राज्यहरूमा भने यो चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन । दक्षिण भारतमा ‘पुष्पा २’ ले ५११.७० करोड कमाएको थियो, जसको तुलनामा ‘धुरन्धर २’ पछि परेकाले यो कमी पुरा गर्न हिन्दी मार्केटमै भर पर्नुपर्ने देखिएको छ ।

तेस्रो हप्तामा प्रवेश गर्दा पनि चलचित्रको कमाइमा मन्दी आएको छैन । २०औँ दिन मंगलबार मात्र यसले १०.१० करोडको व्यापार गरेको छ । गत मार्च १९ मा प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिनमै १०२.५५ करोडको ओपनिङ गरेको थियो ।

विशेष कुरा त के छ भने, यसले पहिलो भागको लाइफटाइम कलेक्सनलाई मात्र १० दिनमा पार गरेर विश्वकै सबैभन्दा तीव्र गतिमा १००० करोड कमाउने भारतीय चलचित्रको कीर्तिमान बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *