सर्लाही, २६ चैत । सर्लाही जिल्लामा विदेशी नम्बर प्लेट भएका सवारीसाधनको सञ्चालन तथा नियमन सम्बन्धी कानुनी व्यवस्था स्पष्ट पार्दै सम्बन्धित सरोकारवाला निकायले बुधबार नयाँ सूचना जारी गरेका छन् ।

जारी सूचनामा भन्सार महसुल ऐन, २०८१ अन्तर्गतका प्रावधानअनुसार नेपाल प्रवेश गर्ने विदेशी सवारीसाधनले अनिवार्य रूपमा भन्सार कार्यालयबाट अनुमति लिनुका साथै तोकिएको शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको उल्लेख छ । अनुमति बिना सवारी सञ्चालन गरेमा कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

सूचना अनुसार मोटरसाइकल वा स्कुटरका लागि दैनिक दुई सय रुपैयाँ, तीनपाङ्ग्रे सवारीका लागि दैनिक चार सय रुपैयाँ तथा कार, जीप वा भ्यानका लागि दैनिक छ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । भन्सार शुल्क तिरेर सञ्चालन गरिएका सवारीसाधन एक आर्थिक वर्षमा बढीमा ३० दिनसम्म मात्र नेपालभित्र सञ्चालन गर्न पाइनेछ ।

तोकिएको समयभन्दा बढी सवारी नेपालभित्र राखिएमा अतिरिक्त शुल्क लाग्नेछ । मोटरसाइकल वा स्कुटरका हकमा दैनिक एक हजार दुई सय रुपैयाँ तथा अन्य सवारीका लागि दैनिक दुई हजार पाँच सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था सूचनामा उल्लेख गरिएको छ ।

अस्थायी पैठारीमा आएका विदेशी सवारीसाधनलाई विशेष सहुलियतसमेत दिइएको छ । यसअनुसार सर्लाही जिल्लाको नजिकको बजार क्षेत्र, सदरमुकाम रहेको मलंगवा बजारसम्म प्रवेश गरी सोही दिन फर्किने सवारीसाधनबाट कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिएका छन् । तर, यस्तो सुविधा लिनका लागि सम्बन्धित सवारीले भन्सार कार्यालयबाट सवारी प्रवेश इजाजतपत्र (निस्सा) अनिवार्य रूपमा लिनुपर्नेछ ।

यसैगरी, भन्सार शुल्क नबुझाई सात दिनभन्दा बढी नेपालभित्र सवारी राखिएमा त्यस्ता सवारीसाधन जफत गर्न सकिने व्यवस्था पनि सूचनामा स्पष्ट गरिएको छ ।

साथै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० (२) को “ख” बमोजिम विदेशमा दर्ता भएका सवारीसाधन अनुमति बिना नेपाल प्रवेश गरी सञ्चालन गरेमा ट्राफिक प्रहरीले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी प्रावधान रहेको पनि सूचनामा उल्लेख गरिएको छ ।

उक्त व्यवस्थाले सीमा क्षेत्र हुँदै आवतजावत गर्ने विदेशी सवारीसाधनलाई व्यवस्थित बनाउने तथा राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्य राखिएको सरोकारवालाहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *