सर्लाही, २७ चैत । मधेश प्रदेश सरकारले संघीय सरकारले निर्धारण गरेको सार्वजनिक बिदाबाहेक थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३–८४ का लागि संघीय सरकारले निर्धारण गरेको सार्वजनिक बिदाबाहेक प्रदेश सरकारले थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सांस्कृतिक तथा धार्मिक महत्वका पर्वहरूलाई लक्षित गरी थप बिदा स्वीकृत गरिएको जनाएको हो ।
निर्णयअनुसार २ वैशाखमा ‘सिरुवा पावनी’, ३० कात्तिक छठ पर्वअन्तर्गत उदाउँदो सूर्यलाई अर्घय दिने दिन, तथा २८ मंसिर ‘विवाहपञ्चमी’का अवसरमा सार्वजनिक बिदा दिइनेछ।यसबाहेक प्रदेश सरकारले आवश्यकताअनुसार थप ३ दिनसम्म बिदा घोषणा गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव गणेश नायकका अनुसार फागुन १८ गते प्रकाशित प्रदेश राजपत्र (खण्ड ७५, संख्या ६७, भाग ५०) मा उल्लेख भएअनुसार वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुने गरी एक वर्षको अवधिमा संघीय बिदाबाहेक थप ६ दिन सार्वजनिक बिदा स्वीकृत गरिएको हो ।
प्रदेश सरकारले स्थानीय संस्कार, परम्परा र जनभावनालाई सम्मान गर्दै यस्तो निर्णय गरेको जनाएको छ ।
