सर्लाही, २८ चैत । नासाको आर्टेमिस– २ मिसनअन्तर्गत चन्द्रमाको परिक्रमा गरेर फर्किएका चार अन्तरिक्षयात्री सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका छन् । उ
नीहरू शुक्रबार प्रशान्त महासागरमा सफलतापूर्वक स्प्ल्यास डाउन गर्दै ५० वर्षभन्दा बढीपछि मानवलाई चन्द्रमाको वरिपरि पुर्याउने ऐतिहासिक यात्रा सम्पन्न गरेका हुन् ।
अन्तरिक्षयानले पृथ्वीको वायुमण्डलमा उच्च गतिमा पुनः प्रवेश गरेपछि क्यालिफोर्नियाको तटनजिक उद्धार टोलीले उनीहरूलाई उद्धार गरेको थियो । अब उनीहरूको स्वास्थ्य परीक्षण गरिनेछ, र त्यसपछि ह्युस्टनस्थित जन्सन स्पेस सेन्टरमा लगिनेछ ।

यो १० दिने यात्रामा रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी हान्सन सहभागी थिए । उनीहरूले चन्द्रमाको पछिल्लो भाग घुम्दै गहिरो अन्तरिक्षमा उपकरण परीक्षण गरेका थिए ।
यो मिसन सन् १९७२ को अपोलो १७ मिसनपछि चन्द्रमातर्फको पहिलो मानव यात्रा हो । यसले भविष्यका चन्द्र अभियान, विशेषगरी आर्टेमिस– ४ का लागि आधार तयार गर्ने विश्वास गरिएको छ ।

मिसनका क्रममा ओरियन क्याप्सुलको हिट शिल्ड, नेभिगेसन प्रणाली र जीवन–समर्थन प्रविधिको परीक्षण गरिएको छ । पुनः प्रवेशका बेला अत्यधिक तापका कारण केही समय सञ्चार अवरुद्ध हुने चुनौती पनि सफलतापूर्वक पार गरिएको थियो ।
यस यात्राले केही ऐतिहासिक उपलब्धि पनि कायम गरेको छ– ग्लोभर चन्द्रमाको परिक्रमा गर्ने पहिलो अश्वेत व्यक्ति बने, कोच पहिलो महिला र हान्सन पहिलो गैरअमेरिकी अन्तरिक्षयात्री बने ।
