सर्लाही, २८ चैत । सरकारले सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरूका लागि घरमै बसेर पेन्सन नवीकरण गर्न सकिने ‘ई-पेन्सन भेरिफिकेसन’ (e-Pension Verification) प्रणाली सञ्चालनमा ल्याएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच यो डिजिटल प्रणालीको उद्घाटन गरेका हुन् ।
यो प्रविधिको सुरुवातसँगै अब ३ लाख ५२ हजार ८१६ जना पेन्सनरहरूले पेन्सन नवीकरण गर्न वा बुझ्नका लागि बैङ्कको लामो लाइनमा बस्नुपर्ने वा सरकारी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झटिलो बाध्यता हटेको छ । यसअघि वर्षमा कम्तीमा एक पटक बैङ्कमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्थाका कारण बृद्धबृद्धा, अशक्त र विशेष गरी विदेशमा रहेका पेन्सनरहरूले ठुलो सास्ती भोग्दै आएका थिए ।
राज्यको वार्षिक १५ करोड जोगिने
यो प्रणाली प्राविधिक रूपमा मात्र नभई आर्थिक रूपमा पनि राज्यका लागि ठुलो उपलब्धि मानिएको छ । हालसम्म पेन्सनरहरूको प्रमाणीकरण र रकम वितरण व्यवस्थापन गरेबापत सरकारले बैङ्कहरूलाई वार्षिक करिब १५ करोड रुपैयाँ कमिसन बुझाउँदै आएको थियो । अब सेवाग्राही आफैँले डिजिटल माध्यमबाट ‘सेल्फ भेरिफिकेसन’ गर्ने भएपछि राज्यको यो अतिरिक्त वित्तीय भार जोगिनेछ । अर्थमन्त्री वाग्लेले यसलाई सरकारको सुशासन र मितव्ययिताको एजेन्डामा एउटा महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् ।
ई-पेन्सन सेवा प्रयोग गर्ने तरिका
महालेखा नियन्त्रक कार्यालय र निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार पेन्सनधारकहरूले आफ्नै मोबाइल वा कम्प्युटरबाट सेवा लिन सक्नेछन् । त्यसका लागि सबैभन्दा पहिला निवृत्तिभरण व्यवस्थापन कार्यालयको वेबसाइट pension.gov.np मा जानुहोस् । त्यहाँ ‘हाम्रो सेवाहरू’ भित्र रहेको IPMS-V2 बटनमा क्लिक गर्नुहोस् । आफ्नो ‘पेन्सन पत्ता नम्बर’ र पासवर्ड राखेर साइन-अप गर्नुहोस् ।
सुरक्षाका लागि तपाईँको दर्ता भएको मोबाइल नम्बरमा ६ अङ्कको ओटिपी कोड आउनेछ । उक्त कोडलाई प्रणालीमा राखी पुष्टि (Confirm) गर्नुहोस् । लगइन भएपछि ड्याशबोर्डमा रहेको ‘लाइभनेस प्रमाणीकरण’ (Liveness Verification) सुरु गर्नुहोस् । यसका लागि उज्यालो ठाउँमा बसेर आफ्नो अनुहार क्यामेराको फ्रेमको बिचमा स्थिर राख्नुपर्ने हुन्छ ।
त्यसपछि प्रणालीले स्वचालित रूपमा तपाईँको अनुहार पहिचान गर्नेछ । अनुहार पहिचान भएपछि स्क्रिनमा हातको कुनै एउटा सङ्केत (जस्तै: बुढी औँला माथि-Thumbs Up, बुढी औँला तल-Thumbs Down वा दुई औँला माथि-Victory Sign) देखाइनेछ । स्क्रिनमा जुन सङ्केत देखिन्छ, सोही अनुसारको हात क्यामेरा सामु स्पष्ट देखाउनुपर्ने हुन्छ । प्रणालीले हातको सङ्केत पहिचान गरेपछि तपाईँ साँच्चै उपस्थित हुनुहुन्छ भन्ने पुष्टि हुनेछ र पहिचान सफल हुनेछ ।
विदेशमा रहेकाहरूका लागि विशेष व्यवस्था
विदेशमा रहेका नेपाली पेन्सनरहरूले पनि अब झन्झट मुक्त सेवा पाउनेछन् । यदि अनलाइन माध्यमबाट गर्न सम्भव नभएमा विदेशमा रहेका व्यक्तिले त्यहाँस्थित नेपाली नियोग (राजदूतावास वा महावाणिज्य दूतावास) मा निवेदन दिन सक्नेछन् । नियोगले पेन्सनर स्वयम् उपस्थित भई निवेदन दिएको ब्यहोरा प्रमाणित गरी निवृत्तिभरण व्यवस्थापन कार्यालयमा ईमेल वा अन्य माध्यमबाट पठाइदिएपछि खाता नवीकरण हुनेछ ।
‘निवृत्तिभरण भुक्तानी व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार रिटायर्ड कर्मचारीको हकमा पेन्सन खाता एक वर्षसम्म र पारिवारिक पेन्सनरको हकमा छ महिनासम्म सक्रिय रहनेछ । यो अवधि सकिनु अघि नै अनलाइन वा भौतिक रूपमा उपस्थित भई नवीकरण गराउनु पर्नेछ ।
नयाँ बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । तर, बालबालिका, अशक्त, ९० वर्ष माथिका ज्येष्ठ नागरिक र भारतीय पेन्सनरको हकमा वडा कार्यालयको सिफारिस भएमा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने छैन ।
यदि पेन्सन पाइरहेको व्यक्तिको मृत्यु भएमा निजको हकवालाले ३५ दिनभित्र अनिवार्य रूपमा निवृत्तिभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानकारी गराउनुपर्नेछ । गलत विवरण पेस गरी वा मृत्यु पछि पनि रकम लिएमा सरकारी बाँकी सरह असुल उपर गरिने उल्लेख छ । लगातार ५ वर्षसम्म नवीकरण नगरेमा पेन्सन अधिकारपत्र तामेलीमा राखी बाँकी रकम राजस्व खातामा जम्मा गरिनेछ ।
‘थर्ड फ्याक्टर एआई’ ले विकास गरेको यो प्रणालीले मानवीय त्रुटि हटाउने, निष्क्रिय खाताबाट हुने रकमको दुरुपयोग रोक्ने र प्रणालीमा पूर्ण पारदर्शिता ल्याउने विश्वास गरिएको छ । सेवाग्राहीले थप स्पष्टताका लागि प्रणालीमा उपलब्ध ‘IPMS Video Tutorial’ हेर्न वा info@fcgo.gov.np मा सम्पर्क गर्न सक्नेछन् ।
