सर्लाही, २९ चैत । देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्दानीभन्दा खर्च झण्डै तेब्बर बढी रहेको देखाउँछ, जसले सेवा दीर्घकालीन रूपमा आर्थिक संकटतर्फ धकेलिँदै गएको सङ्केत गरिरहेको छ ।
कम्पनीको व्यावसायिक कार्ययोजना-२०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म १९ करोड २१ लाख रुपियाँ आम्दानी हुँदा ६७ करोड ३७ लाख रुपियाँ खर्च भएको उल्लेख गरेको छ। यस अवधिमा कुल ४८ करोड १५ लाख ८० हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको छ ।
पछिल्लो आर्थिक वर्ष २०८०/०८१ मा मात्र ८ करोड ५० लाख आम्दानी हुँदा २६ करोड २७ लाख रुपियाँ खर्च भएको छ । हाल मासिक आम्दानी करिब ७५ लाख रुपियाँ भएपनि खर्च १ करोड २९ लाख रुपियाँ पुग्ने गरेको छ ।
आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिँदै सञ्चालन गर्नुपरेको छ। २०८१ असार मसान्तसम्म सावाँ र ब्याजसहित कुल ऋण ७९ करोड रुपियाँ नाघिसकेको छ, जसले कम्पनीमाथि थप आर्थिक दवाव सिर्जना गरेको छ ।
यात्री सेवाका हिसाबले भने रेल प्रभावकारी मानिएको छ । भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको रेल सेवा दैनिक तीन पटक चल्छ ।
धनुषाको खजुरीका ५५ वर्षीय उपेन्द्र ठाकुरका अनुसार रेलले दैनिक जीवन सहज बनाएको छ । मोटरसाइकलमा एक घण्टा लाग्ने दूरी रेलबाट १५ मिनेटमै पार गर्न सकिन्छ। तर यात्रु सुविधा बढ्दै जाँदा पनि कम्पनीको वित्तीय अवस्था भने कमजोर बन्दै गएको छ ।
घाटाको प्रमुख कारणमध्ये भारतीय प्राविधिक कर्मचारीमा हुने उच्च खर्च मुख्य मानिएको छ । हाल १७ जना भारतीय कर्मचारी कार्यरत छन्, जसका लागि कम्पनीले भारतीय कोंकन कम्पनीलाई मासिक करिब १ करोड १२ लाख रुपियाँ भुक्तानी गर्दै आएको छ । यसको विपरीत नेपालीतर्फ १०३ कर्मचारीको कुल तलब मात्र १७ लाख रुपियाँ छ ।
स्थायी प्राविधिक जनशक्तिको अभाव, वर्कसपको कमी, स्वदेशी चालक तथा स्टेशन मास्टरको अभाव, फ्युलिङ स्टेशन नहुनु र इन्धनसमेत भारतबाट ल्याउनुपर्ने अवस्थाले सञ्चालन खर्च अझ बढाएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । यसको साथै कम्पनी लामो समयदेखि महाप्रबन्धकविहीन रहेको हुँदा समेत व्यवस्थापन कमजोर बनेको छ ।
विसं १९९४ मा सुरु भएको रेल सेवा २०७० मा ब्रोड गेज विस्तारका लागि बन्द गरिएको थियो। २०७८ चैत १९ देखि पुनः सञ्चालनमा आएको रेल हाल ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ ।
कम्पनीले रेल्वेको आम्दानी बढाउन तथा आत्मनिर्भर बन्न विभिन्न विकल्प अघि सारेको छ । रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिँदा वार्षिक करिब ८ करोड आम्दानी हुने अनुमान गरिएको छ । साथै पुरानो न्यारो गेज रह्दाको कोइला इन्जिन सहितका चिजहरुलाई रेल म्युजियम स्थापना गरी पर्यटनमार्फत आय बढाउने योजना पनि अघि सारेको छ ।
स्थानीय व्यापारीहरूले यात्रु सेवासँगै मालसामान ढुवानी सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उहाँहरूका अनुसार यात्रु मात्र बोक्ने सेवाबाट नाफा सम्भव छैन ।
तत्कालिन महाप्रबन्धक निरञ्जन झाले नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालन जति सक्दो छिटो सञ्चालनमा ल्याउनु आवश्यक्ता रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालको बेला अहिलेको रेल्वेमा वोगी थपेर वा नयाँ रेल नै थपेर कार्गो रेल्वे सेवा सञ्चालन गर्ने भन्ने विषयमा छलफल समेत गरिएको जानकारी दिनुभयो ।
भारतको कलकत्ता बन्दरगाहदेखि सस्तो दरमा नेपालमा मालसमान ढुवानी गर्न कार्गो रेल्वे सेवा सञ्चालनका लागि पहिलेदेखि जनकपुर क्षेत्रका व्यवसायीले माग गर्दै आएको भएपनि हालसम्म सञ्चालन हुन सकेको छैन ।
जनकपुरका व्यवसायी निर्मल चौधरीले कार्गो रेल्वे सेवा सञ्चालन भएमा मालसमान ढुवानीका लागि सहज तथा सस्तो हुने बताउनुभयो ।
समयमै व्यवस्थापन सुधार, स्वदेशी दक्ष जनशक्ति उत्पादन, मालवाहक सेवा विस्तार र ऋण व्यवस्थापन गर्न सके रेल सेवा नाफामुखी बन्न सक्ने देखिन्छ । अन्यथा, बढ्दो ऋणले नेपालको एकमात्र रेल सेवा थप सङ्कटमा पर्ने निश्चितजस्तै देखिएको छ ।
