सर्लाही, २९ चैत । पर्सामा कामदारमाथि निर्घात कुटपिट गर्ने कुखुरा फर्मका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कामदारमाथि कुटपिट गरेको आरोपमा वीरगन्ज महानगरपालिका– १७ निवासी ३० वर्षीय सकिनलाल देवान पक्राउ परेका हुन् ।
परवानीपुर प्रहरी चौकीअगाडि ‘साबिर फ्रेस हाउस एन्ड सप्लायर्स’का सञ्चालक देवानले आफ्नै फर्ममा कार्यरत २० वर्षीय नूरआलम देवानलाई कुटपिट गरेका हुन् । कामदारलाई लठ्ठीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
भाइरल भिडियोमा साहु देवानले कामदार नूरले पसलबाट कुखुरा चोरी गरेर बिक्री गरेको आरोप लगाउँदै निर्घात कुटपिट गरिरहेको देखिन्छ। घटना सार्वजनिक भएसँगै चौतर्फी आलोचनापछि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
