सर्लाही,३० चैत्र । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय नभएको टिप्पणी गरेका छन्।
वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने, नगर्नेको नाम अभिलेखमा राख्ने र गर्नेलाई मात्र १५ औं महाधिवेशनमा भाग लिन पाउने गगन थापाले सार्वजनिकरुपमा बताएपछि खड्काले विज्ञप्ति जारी गर्दै ज्यान हत्केलामा राखेर पार्टी सदस्यता लिएको स्मरण गराएका हुन्।
पार्टीको आधिकारिकता सम्बन्धमा विवाद विचाराधिन रहेको अवस्थामा तथाकथित विशेष महाधिवेशनवाट बनेको केन्द्रीय कार्यसमितिले ग्रेसको पन्ध्रौ महाधिवेशनका लागि विधान बमोजिम गरिएको क्रियाशील सदस्यता नवीकरण तथा वितरणलाई सार्वजनिक भाषणबाट खारेजीको घोषणा गरिएको कुरा सार्वजनिक सञ्चारमाध्यमबाट सम्प्रेषण भएको विषयले आश्चर्यचकित र गम्भीर बनाएको छ।
खड्काले भनेका छन्,‘निर्दलीय निरंकुश पंञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषण मार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन। यो सदस्यता त कुनै नेताको हारजितसँग होइन नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नगारिक स्वतन्त्रताको लडाई, योद्धाहरुको योगदान र सहादत प्राप्त गरेका शहिद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा हो।’
पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु जति बदनियतपूर्ण रहेको उनको ठहर छ।
मुलुक विषम राजनीतिक परिस्थितिमा गुज्रिरहेको बेला पार्टीभित्र बृहत एकता खोज्नुको सट्टा पार्टीलाई थप कमजोर बनाउने गतिविधि कहि कसैले पनि गर्नु उचित नहुने भन्दै ध्यानाकर्षण गराएका छन्। खड्का पक्षले अव्यवहारिक तथा आम पार्टी पंत्तिमा भ्रम पार्ने र निराशा सृजना गर्ने खाल्का कृयाकलाप र गतिविधिवाट अलग रहन तथा यस्ता कुनै पनि गतिविधिबाट प्रभावित र विचलित नभई राष्ट्र, जनता र पार्टी हितमा निरन्तर क्रियाशील रहन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, क्रियाशील सदस्य, समर्थक एवं शुभचिन्तकलाई अपिल गरेका छन्। 

