सर्लाही, ०२ बैशाख । चालु आर्थिक वर्षको ९ महिनामा सरकारले १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँबराबरको बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्म सरकारले विनियोजित बजेटमध्ये चालुतर्फ ७ खर्ब ४७ अर्ब ५२ करोड रुपैयाँ (६३.३ प्रतिशत) र पुँजीगत अर्थात विकास खर्चतर्फ ९६ अर्ब १९ करोड रुपैयाँ (२३.५८ प्रतिशत) बजेट खर्च गरेको हो ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट छुट्याएको सरकारले पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको थियो । समीक्षा अवधिमा कुल विनियोजित बजेटमध्ये जम्मा ५३.९७ प्रतिशत हाराहारी मात्र कार्यान्वयन गरेकामा बाँकी तीन महिनामा ६ खर्ब बढी खर्च गर्नुपर्ने दबाब सरकारमाथि छ ।
हाल कार्यान्वनमा रहेको बजेट केपी शर्मा ओलीले नेतृत्वको अघिल्लो सरकारले ल्याएको हो । जेन–जी विद्रोहपछि पूर्वन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विनियोजित बजेटको खर्चको लक्ष्य घटाउँदै १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ हाराहारी मात्र कार्यान्वयन गर्न सकिने लक्ष्य पेस गरेको थियो ।
स्रोतको अभावसँगै बजेट खर्चको प्राविधिक समस्यालाई देखाउँदै अर्धवार्षिक समीक्षामार्फत बजेट खर्चको लक्ष्य घटाएको कार्की नेतृत्वको सरकारले चालुतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । तर, वर्षको चौथो त्रैमास प्रवेश गर्दैगर्दा खर्चको संशोधित लक्ष्यसमेत नभेट्ने खतरा देखिएको छ ।
तथापि, वित्तीय व्यवस्थापन (सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानी) तर्फ भने समीक्षा अवधिमा विनियोजित बजेटको ५७ प्रतिशत खर्च भइसकेको छ । यस शीर्षकमा कुल ३ खर्ब ७५ अर्ब २४ करोड बजेट विनियोजन गरिएकोमा चैत मसान्तसम्म २ खर्ब १६ अर्ब २३ करोड रुपैयाँ खर्च भइसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
डेढ खर्ब बढी बजेट घाटामा
चैत मसान्तसम्म बजेट कार्यान्वयनको स्थिति हेर्दा सरकारी आयव्यय खाता डेढ खर्ब बढी घाटामा देखिएको छ । अर्थात् सरकारको आम्दानीभन्दा खर्च बढी भएको छ ।
समीक्षा अवधिमा ९ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यस अवधिमा सरकारलाई बजेट कार्यान्वयमा खुद १ खर्ब ५२ अर्ब ७८ करोड रुपैयाँ घाटा लागेको छ ।
