सर्लाही, ०२ बैशाख । मोरङको विराटनगर रानीस्थित नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा सामान वारपार गर्न घरभित्रैबाट ‘गुप्त ढोका’ बनाएको पाइएपछि प्रशासनले निगरानी बढाएको छ ।

मोरङका सीडीओ युवराज कट्टेलले सीमा क्षेत्रका कतिपय घरहरूमा ढोकाजस्तो प्वाल बनाएर त्यहीँबाट सामान ओसारपसार गर्ने गरेको भेटिएको बताए । उनका अनुसार नेपालतर्फ बनेका ६० वटा घरमा भारततर्फ जाने प्वाल बनाइएको भेटियो ।

सीडीओ कट्टेलले भने, ‘दशगजा क्षेत्रमा अनुगमनको क्रममा यस्ता प्वालहरूबाट सामान वारीपारी हुने गरेको भेट्यौँ । हामीले अहिले टाल्ने काम गरिरहेका छौँ । दैनिक उपभोग्य सामाग्री र लत्ता कपडा नेपाल ल्याउने रहेछन् ।’

सीमामा रहेका घरहरूलाई तस्करीको माध्यम बनाइएपछि सुरक्षा संयन्त्रले नियन्त्रणका लागि कारबाही अघि बढाएको छ । सीमा क्षेत्रका घरभित्रबाट सामान ओसारपसार गर्न बनाइएका प्वालहरू पहिचान गरी बन्द गरिसकिएको सशस्त्र प्रहरीले जनाएको छ ।

दाल, चामल लगायतका खाद्यवस्तु र कपडालगायतका सामान अवैध रूपमा आउँदा राजश्वमा चुहावट भइरहेको एपीएफको भनाइ छ ।

राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वी नाका काँकडभिट्टा तथा विराटनगरको रानीनाका लगायतले विशेष अपरेसन थालेको सुरक्षा अधिकारी बताउँछन् ।

सीमावर्ती क्षेत्रका नागरिक सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने र लुकिछिपी ल्याउँदा स्थानीय बजार सुस्ताएको र मुलुकले राजस्व गुमाइरहेको व्यवसायीको गुनासो बढेपछि नाकामा कडाइ गरिएको हो ।

कोशी प्रदेशका सीमा नाकामा एक सय रूपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन भनेको छ ।

महसुल नबुझाए कारबाही गर्ने भन्दै सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम चलाइएको एपीएफ २ नम्बर गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइली बताउँछन् ।

गृहबाट पनि चोरी निकासी र राजस्व चुहावट नियन्त्रणका कदम चाल्न निर्देशन आएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *