सर्लाही, ०३ बैशाख ।  मधेस प्रदेश सरकारप्रति मधेस केन्द्रित दलले असन्तुष्टि जनाउन थालेका छन् । कांग्रेस नेतृत्वमा बनेको मधेस प्रदेश सरकारले गति नलिएको भन्दै सरकारको सहयोगी घटक जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले असन्तुष्टि जनाउन थालेका छन् ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले भने, ‘अहिले मधेस प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार छ । सरकारले काम गर्न सकेको छैन, तर गाली मधेसवादी दलले खाइरहेका छन् ।’

वैशाख सुरु भइसक्दा प्रदेश सरकारले वार्षिक बजेटको १० प्रतिशत पनि खर्च गरेको छैन । ‘बाँकी डेढ/दुई महिनामा सरकारले कति काम गर्ला ?’ सिंहले भने, ‘सत्ता साझेदार दललाई समेटेर सरकारले कामको गतिलाई तीव्रता दिएन भने सरकारकै बारेमा पुनर्विचार गर्नुपर्ने हुन्छ ।’

केही समय पहिले जनमत पार्टीको सचिवालय बैठकमा पनि सरकारको बारेमा समीक्षा भएको थियो । त्यो बैठकले पनि सरकारको काम–कारबाही सन्तोषजनक नरहेको निष्कर्ष निकालेको थियो । ‘सरकारले वार्षिक बजेट नै खर्च गर्न सकेन भने त्यो सरकारको के काम ?’ सिंहले भने ।

मुख्यमन्त्रीले काम गर्न र गराउन नसकेको खण्डमा त्यसको दोष अरु सहयोगी दललाई पनि जाने भन्दै उनले मुख्यमन्त्रीले कार्यशैली र काम कारबाहीमा सुधार गर्नुपर्ने खाँचो औँल्याए ।

जनमत पार्टीले मधेस सरकारमा अर्थ मन्त्रालयसहित दुई वटा मन्त्रालय सम्हालेको छ ।

जसपा नेपालका मधेस प्रदेश सभा सदस्य सरोज यादवले पनि सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो गतिमा काम गर्न नसकेको बताए ।

सरकारले जारी गरेको नीति तथा कार्यक्रम एवं बजेटको आधारमा काम अगाडि बढ्न नसकेको उल्लेख गर्दै उनले त्यहाँ मुख्यमन्त्री भन्दा पनि कर्मचारीबाट असहयोग भइरहेको बताए ।

मधेस सरकारमा रहेका सचिवहरूको कारणले सरकारले काम गर्न नसकिरहेको कुरा आफूलाई मुख्यमन्त्रीले भनेको उनको भनाइ छ ।

आर्थिक वर्षको अन्तिम अन्तिम समय आइसके पनि जुन गतिमा काम हुनुपर्ने हो, त्यसरी नहुनुमा मुख्यमन्त्री तथा मन्त्रीहरू भन्दा त्यहाँका कर्मचारी दोषी रहेको प्रदेश सभा सदस्य यादवले बताए ।

कर्मचारीबाट असहयोग भएको कारण सोचे अनुसारको काम नभएको भन्दै उनले यसमा मुख्यमन्त्रीले भूमिका खेल्नुपर्ने बताए ।   

कांग्रेसका मधेस प्रदेश सभापति समेत रहेका कृष्ण यादवको नेतृत्वमा सरकार छ । कांग्रेस नेतृत्वको सरकारलाई जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाएको छ ।

जसपा नेपाल र लोसपा नेपालबिच एकता भई जसपा नेपाल बनेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच एकता भई नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।

जेनजी आन्दोलनपछि जनमत पार्टीको नेतृत्वमा रहेको सरकारको मुख्यमन्त्री सतिश सिंहले राजीनामा दिएपछि तत्कालीन लोसपा नेपालका मधेस प्रदेश सभाका सदस्य जितेन्द्र सोनले मुख्यमन्त्री बनेका थिए ।

जसको सहयोगमा उनी मुख्यमन्त्री बनेका थिए, त्यही दलका प्रदेश सभा सदस्यले विश्वासको मत नदिएपछि जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

अर्को सरकार गठनमा ढिलासुस्ती गरेको भन्दै मधेस केन्द्रित दलहरूले आन्दोलन सुरु गरेका थिए । कांग्रेस, तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको पनि आन्दोलनमा सहयोग थियो ।

आन्दोलनकै क्रममा तत्कालीन प्रदेश प्रमुखले बिहान चार बजे एमालेका नेता सरोज यादवलाई महोत्तरीको एक कटेजमा मुख्यमन्त्रीको शपथग्रहण गराएका थिए ।

त्यसपछि झन् विवाद भयो । सर्वोच्चसम्म मुद्दा चल्यो । सर्वोच्च अदालतले सरोज यादव नेतृत्वको सरकार गठन प्रक्रिया असंवैधानिक रहेको ठहर गर्‍यो । मधेस केन्द्रित दलले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहे पनि कांग्रेसले मानेन ।

मधेसवादी दलले बाध्य भएर कांग्रेसको नेतृत्वमा गत मंसिर १९ गते सरकार बनाएका थिए । कांग्रेसको नेतृत्वमा सरकार बनेको ६ महिनाभन्दा बढी भइसक्दा पनि हालसम्म सरकारले गति नलिएको भन्दै मधेस केन्द्रित दलले असन्तुष्टि जनाउन थालेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *