सर्लाही,७ वैशाख । मुलुकभरमा सबैभन्दा बढी १८ हजार हेक्टरमा उखु खेती हुने र धेरै चिनी उद्योगसमेत रहेको सर्लाहीमा तीनवटै चिनी मिलले यो वर्षका लागि उखु क्रसिङ बन्द गरेका छन् ।
जिल्लामा उखु क्रसिङ सिजन २०८२ मा तीनवटा चिनी उद्योगले ५८ लाख क्विन्टल भन्दा बढी उखु पेलेर क्रसिङ बन्द गरेका हुन् । सबैभन्दा बढी इन्दुशंकर चिनी उद्योग हरिवनले ३३ लाख क्विन्टल उखु क्रसिङ गरेको छ ।
किसानले ल्याएको उखु सकिएसँगै मिल बन्द गरिएको इन्दुशंकरका प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिए । जिल्लाकै पुरानो र प्रतिष्ठित इन्दुशंकरको तुलनामा अन्य साना दुईवटा चिनी उद्योगले भने कम उखु क्रसिङ गरेका छन् ।
गोडैतास्थित महालक्ष्मी चिनी उद्योग बगदहले १६ लाख दुई हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय प्रमुख शिवशंकर महतोले जानकारी दिए । अन्नपूर्ण चिनी उद्योग धनकौलले अझ कम उखु क्रसिङ गरेको छ ।
अन्नपूर्णले यो वर्ष नौ लाख ९३ हजार क्विन्टल उखु पेलेर उद्योग बन्द भएको प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले बताए । चिनी उद्योगमा उखु क्रसिङ बन्द भएसँगै कामदारहरु घर फर्किएका छन् ।
चिनी बनाउने काममा लागि भने केही कामदार कार्यरत नै रहेका उद्योगहरुले जनाएका छन् । यो वर्षदेखि चिनी मिलहरुले आ–आफ्नो जिल्लाको उखु मात्र खरिद गर्ने निर्णय गरेसँगै प्रशस्त उखु खेती हुने सर्लाहीका चिनी मिलहरु केही दिन ढिलोसम्म सञ्चालन भएर बन्द भएका छन् ।
उखु क्रसिङ सम्पन्न भए पनि किसानले उद्योगमा ल्याएर बेचेको उखुको सम्पूर्ण भुक्तानी पाउन सकेका छ्रैनन् । इन्दुशंकर चिनी उद्योग हरिवनले सेड्यूल अनुसार भुक्तानी गरिरहे पनि महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले भने ढिलो गरी भुक्तानी गरिरहेको उखु किसानले गुनासो गरेका छन् ।
सरकारले यो वर्ष उखुको मुल्य प्रतिक्विन्टल ६२० रुपियाँ निर्धारण गरेको छ । त्यसमा सरकारको तर्फबाट थप ७० रुपियाँ अनुदान उपलब्ध गराउने भनी गत मंसिर २२ गते बसेको सुशीला कार्की नेतृत्वको तत्कालिन मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको थियो ।
