सर्लाही,८ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङसँग स्पष्टीकरण सोधेको चर्चा चलिरहँदा उनको सचिवालयले भने यसको खण्डन गरेको छ । अहिलेसम्म प्रधानमन्त्रीबाट गृहमन्त्रीलाई कुनै पनि लिखित स्पष्टीकरण नमागिएको सचिवालय स्रोतले बतायो ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्री विवादमा तानिएका छन् । सामाजिक सञ्जालमा उनको राजीनामा माग समेत भएको छ । तर, अहिलेसम्म प्रधानमन्त्री बालेन्द्र शाहले कुनै एक्सन लिइसकेका छैनन् ।

सचिवालय स्रोतले बाहिर आएका विषयमा प्रधानमन्त्रीको ध्यानकर्षण भए पनि कुनै निर्णय वा कारवाही नभएको बताएको छ । ६२/६३ पछि उच्च पदमा रहेका सबै राजनीतिकर्मीहरुको सम्पत्ति छानबिनका लागि आयोग बनिसकेकाले गृहमन्त्रीको सम्पत्तिबारे पनि यही आयोगले छानबिन गर्ने प्रधानमन्त्रीको सचिवालय बताउँछ ।

सचिवालयका सदस्यले नाम नबताउने शर्तमा भने, ‘गृहमन्त्रीले सार्वजनिक स्पष्टीकरण दिइसक्नुभएको छ । उहाँको सम्पत्तिको स्रोतबारे सम्पत्ति जाँचबुझ आयोगले हेर्छ । अरु निर्णय अहिलेसम्म भएको छैन ।’

गृहमन्त्रीको सचिवालयले मागिएको अवस्थामा स्पष्टीकरण दिन गृहमन्त्री तयार रहे पनि बुझाएको विषयमा अनभिज्ञता दर्शायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *