सर्लाही, ०८ बैशाख । भारतबाट सामान आयातमा हाल लागु गरिएको भन्सार सम्बन्धी व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकको दैनिक जीवनमा असहजता बढ्दै गएको भन्दै मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले यस्तो व्यवस्थाले दुबै देशबिच सदियौँदेखि स्थापित बेटीरोटीको सम्बन्धमा समेत असर परेको उल्लेख गर्नुभएको छ ।
अर्थमन्त्री यादवले सोमबार जारी गर्नुभएको ध्यानाकर्षण वक्तव्यमा सीमा क्षेत्रमा लागु भएका नीतिका कारण सामान्य आवतजावत तथा दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समस्या देखिएको बताउनुभएको छ ।
उहाँका अनुसार यो व्यवस्थाले स्थानीय नागरिकको जीवनयापन कठिन बन्नुका साथै नेपाल भारतबिचको ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्धमा असहजता सिर्जना गरिरहेको छ ।
उहाँले यस विषयमा वस्तुस्थितिको यथार्थ अध्ययन गरी नागरिकमैत्री, व्यवहारिक र सन्तुलित नीति अवलम्बन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।
सीमा क्षेत्रका जनताको संवेदनशीलतालाई मध्यनजर गर्दै नीतिगत निर्णय हुनुपर्ने उहाँको भनाइ छ ।त्यसैगरी, मधेश प्रदेशका विभिन्न स्थानमा सडक तथा सडक पेटी व्यवस्थापनका क्रममा साना तथा निम्न आय भएका व्यवसायी प्रभावित भइरहेको विषयमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
पछिल्लो समय अव्यवस्थित बजार तथा फुटपाथ व्यवस्थापनका नाममा वैकल्पिक व्यवस्था नगरी चालिएका कदमले साना व्यवसायीको रोजगारीमा प्रत्यक्ष असर परेको उहाँको भनाइ छ ।
अर्थमन्त्री यादवका अनुसार स्पष्ट विकल्प बिना गरिने यस्ता कार्यले साना उद्यमीको आर्थिक अवस्था थप जटिल बनाउने जोखिम रहेको छ ।सडक व्यवस्थापन आवश्यक भए पनि प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि ठोस योजना अनिवार्य हुनुपर्ने उहाँले जोड दिएको भएको छ ।
उहाँले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दुवै विषयमा आवश्यक समन्वय, संवाद र दीर्घकालीन समाधानको खोजी गर्न आग्रह गर्नुभएको छ ।
