सर्लाही,८ वैशाख । सिरहा कारागार पुनः विवाद सृजना भएको छ।कारागारभित्र आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा २२ जना कैदीलाई प्रहरीले आज विहान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेश बहादुर पालले दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै केही कैदीले आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेको बताए।

उक्त घटनापछि सम्भावित थप झडप र असुरक्षा सृजना हुन सक्ने भन्दै २२ जना कैदीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएसपी पालले बताए।

उनका अनुसार नियन्त्रणमा लिइएका कैदीहरूबारे आवश्यक कानुनी प्रक्रिया र प्रशासनिक निर्णय सम्बन्धित निकायको निर्देशन अनुसार अघि बढाइनेछ।

सिरहा कारागारमा यसअघि पनि पटक–पटक विवाद, कुटपिट तथा आन्तरिक झडपका घटनाहरू हुँदै आएको छ। कैदीबीचको गुटबन्दी, व्यवस्थापनमा कमजोरी र कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीको मिलोमतोकै कारण बारम्बार तनाव उत्पन्न हुने गरेको छ। 

यस अघि माघ २६ मा संयुक्त सुरक्षा निकायले कारागारभित्र सर्च गर्दा कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेको थियो । सो कटुवा तात्कालिक चौकीदार भन्दै आन्तरिक प्रशासनमा बलियो पकड बनाएका इन्द्रजित यादवले राखेका थिए ।

सर्च अप्रेसनकै क्रममा सेना सहितको सुरक्षाकर्मीको संयुक्त टोलीले यादव सहित १३ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई अन्य कारागारमा सारिएको छ । इन्द्रजितलाई कारागारवाट नियन्त्रणमा लिएपछि कैदीबन्दीले दुई दिन विरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *