सर्लाही,८ वैशाख । नेपाल–भारत सीमामा लागू गरिएको नयाँ भन्सार नीतिले परम्परागत ‘रोटी–बेटी’ सम्बन्धमा प्रत्यक्ष असर पार्न थालेपछि सीमावर्ती क्षेत्रमा असन्तोष बढ्दै गएको छ । विशेषगरी तराई–मधेस क्षेत्रमा बसोबास गर्ने समुदाय दैनिक उपभोग्य सामान तथा विवाहका सामग्रीमा लगाइएको करका कारण सास्ती भोग्न बाध्य भएका छन् ।

सीमापार भारतीय पक्षका सशस्त्र सीमा बलले मानवताका आधारमा विवाहसँग सम्बन्धित सामग्रीहरू जाँचपछि सहज रूपमा लैजान दिने पहल गरिरहेको बताइएको छ । यसले ‘रोटी–बेटी’ सम्बन्धलाई जोगाउने प्रयासका रूपमा हेरिएको छ । तर, नेपालतर्फको प्रशासनिक कडाइका कारण स्थानीय बासिन्दामा असन्तुष्टि बढ्दै गएको छ ।

सीमावर्ती क्षेत्रका स्थानीय अगुवा अरुण कुमार गुप्ता, रमेश मित्तल र रणजीत सिंहले सरकारको निर्णयलाई सामाजिक तथा सांस्कृतिक सम्बन्धमाथिको ठुलो आघातको रूपमा व्याख्या गरेका छन् । उनीहरूले यस्तो नीतिले दुई देशबिचको सदियौँदेखिको पारिवारिक सम्बन्ध कमजोर पार्ने चेतावनी दिएका छन् ।

सीमावर्ती क्षेत्रमा विरोधका आवाजहरू चर्किँदै गएका छन् । स्थानीय बासिन्दाहरूले दैनिक जीवन सहज बनाउन तथा सांस्कृतिक सम्बन्ध जोगाउन सरकारसँग नीति पुनर्विचार गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *