सर्लाही, ०९ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले तत्काल नयाँ गृहमन्त्री नियुक्त नगर्ने स्रोतले बताएको छ । प्रधानमन्त्री बालेननिकट स्रोतका अनुसार अहिले गृह मन्त्रालय आफैँसँग राखेर सुधन गुरुङबारे छानबिन गर्ने मनसायमा प्रधानमन्त्री बालेन छन् ।
प्रधानमन्त्री बालेनले राजीनामा दिएका गृहमन्त्री गुरुङ जोडिएको विषयबारे छानबिन गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘बिचौलियासँग नाम मुछिएपछि राजीनामा दिन बाध्य भएका गुरुङको विषयमा प्रधानमन्त्रीले एउटा छानबिन समिति बनाएर नै अध्ययन गर्ने तयारी गर्नुभएको छ ।’
त्यसरी गठन हुने समितिले निष्कर्ष नदिएसम्म गृहमन्त्रालय प्रधfनमन्त्रीको साथमा हुनेछ र समितिले दोषी किटान नगरेको अवस्थामा गुरुङ नै गृहमन्त्री हुन सक्ने पनि बालेननिकट स्रोतको दाबी छ ।
जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेट निर्माण प्रक्रियाका क्रममा बिचाैलियालाई करको दर हेरफेर गर्ने जिम्मा दिएको भन्दै विवाद भएपछि संसदीय छानबिन समिति गठन भएको थियो । समिति बनेपछि शर्माले राजीनामा दिएका थिए ।
समितिले शर्मा दोषी नभएको प्रतिवेदन बुझाएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुन: नियुक्ति गरेका थिए । सुधन प्रकरणमा पनि सोही घटना दोहोरिन सक्ने अनुमान गरिएको छ ।
