काठमाण्डाैं, ०९ बैशाख । जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणको आज एक वर्ष पूरा भएको छ। गत वर्ष आजकै दिन आक्रमण हुँदा एक नेपालीसहित २७ जनाले ज्यान गुमाएका थिए ।
सोही घटनाको स्मरण गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारीहरूको कुटिल योजना कहिल्यै सफल नहुने बताएका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ,’गत वर्ष आजको दिन पहलगाममा भएको भयानक आतंकवादी हमलामा गुमाएका निर्दोष जीवनहरूलाई सम्झँदै। तिनीहरूलाई कहिल्यै बिर्सने छैन । एक राष्ट्रको रूपमा, हामी शोक र संकल्पमा एकताबद्ध छौं ।’
उनले भनेका छन्,’भारत कुनै पनि प्रकारको आतंकवादको अगाडि कहिल्यै झुक्ने छैन । आतंककारीहरूको कुटिल योजना कहिल्यै सफल हुनेछैन । ‘पहलगाम आक्रमणको पहिलो वार्षिकोत्सवमा गृहमन्त्री अमित शाहले एक्समा पोस्ट गरेका छन्।
अमित शाहले लेखेका छन् ,’यस दिन हामी गत वर्ष पहलगाम आतंकवादी हमलामा गुमाएका निर्दोष जीवनहरूलाई गम्भीरतापूर्वक सम्झन्छौं। हाम्रा प्रियजनहरू गुमाउनुको शोक र पीडा अझै पनि प्रत्येक भारतीयको हृदयमा छ ।’
उनले थप लेखेका छन्,’आतंकवाद मानवताको सबैभन्दा ठूलो शत्रु हो, जसको विरुद्धमा हामीले एकताबद्ध भएर लड्नुपर्छ र यसलाई परास्त गर्नुपर्छ । भारतले आतंकवाद र यसलाई आश्रय दिनेहरू विरुद्ध आफ्नो कडा नीति जारी राख्नेछ ।’
