सर्लाही, ०९ बैशाख । नेपाल धितोपत्र बोर्डले गरेको एक जाँचबुझ प्रतिवेदनले सेयर बजारको चलखेलमा बीमा कम्पनीहरुको ‘फन्ड’ दुरुपयोग हुने गरेको देखाएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा रहेका व्यवसायी दीपक भट्टको सेयर कारोबारबारे बोर्डको सुपरीवेक्षण विभागले गरेको अनुसन्धानले भट्ट तथा उनको समूहले सेयर बजारमा चलखेल गर्न विभिन्न बीमा कम्पनीहरूको करिब ४ अर्बको फण्ड दुरुपयोग गरेको निष्कर्ष निकालेको हो ।

बीमा कम्पनीहरु पब्लिक लिमिटेड हुन्, जहाँ सर्वसाधारणको समेत ठूलो लगानी हुन्छ । साथै, ती कम्पनीले बीमाको प्रिमियमबापत सर्वसाधारणबाट रकम संकलन गर्छन् ।

भट्टको समूहले आफूहरुकै प्रमुख सेयर हिस्सा रहेका बीमा कम्पनीको फन्डको दुरुपयोग गरी सेयर कारोबार गर्ने गरेको बोर्डले पत्ता लगाएको हो ।

धितोपत्र बोर्डले भट्टको सेयर कारोबारसँग जोडिएका नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, विभिन्न माइक्रो इन्स्योरेन्सहरु, लगानी कम्पनी तथा व्यापारिक घरानाहरूको सेयर कारोबारको अनुसन्धान गरेको थियो ।

सो अनुसन्धानका क्रममा भट्टले व्यक्ति तथा निजी कम्पनीहरुबाट सस्तोमा सेयर खरिद गर्ने र तिनको मूल्य बढाएर विभिन्न बीम कम्पनीहरुलाई विक्री गर्ने गरेको अध्ययनको निष्कर्ष छ । साथै, त्यसरी व्यक्ति र निजी कम्पनीका नाममा सेयर उधारोमा किन्ने गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

सो अनुसन्धानले यस्तो गडबडीका प्रमुख पात्रका रुपमा भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत संदिप चाचान रहेको उल्लेख गरेको छ । उनीहरुले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९६ र ९८ अनुसार धितोपत्र बजारलाई प्रभावित पार्ने तथा जालसाजी युक्त कारोबारसम्बन्धी कसुर गरेको बोर्डको निष्कर्ष छ ।

त्यस्तै, सो कार्यमा सहयोगी भूमिका हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापसर्ब लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

साथै, शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर, र राजबहादुर शाहसमेत नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने कार्यमा संलग्न रहेको बोर्डको अनुसन्धानले देखाएको छ । बोर्डले यी व्यक्ति तथा संस्थामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ ।

धितोपत्र बोर्डको यस अनुसन्धानले बीमा प्राधिकरण, सुम्पत्ति शुद्धीकरण र नेपाल प्रहरीलाई थप अनुसन्धान तथा आवश्यक कारबाही गर्न समेत सुझाएको छ ।

शुभी अग्रवालको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हाल हिरासतमा रहेका सुलभ अग्रवालकी श्रीमती हुन् । सुलभ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसमेत हुन् । ऋषिराज मोर क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन् । राजबहादुर शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) का प्रबन्ध निर्देशक हुन् । गोल्छा हिमालयन रिइन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा मोर सोही कम्पनीको सञ्चालक थिए ।

उल्लेखित व्यक्तिहरू विभिन्न धितोपत्रहरु पहिले आफूले खरिद गर्ने तथा तिनको मूल्य बढाई आफ्नो प्रभावमा रहेका पब्लिक लिमिटेड कम्पनी खासगरी बीमा कम्पनीलाई किन्न लगाउने गरेको बोर्डले औँल्याएको छ । भट्ट तथा उनको समूहले ३ अर्ब ८० करोड रुपैयाँको उधारो सेयर कारोबार गरेको बोर्डले ठहर गरेको छ ।

भट्ट तथा राजबहादुर शाहले त्यसरी सेयर खरिद गर्दा ३ अर्ब ८० करोड रुपैयाँ भृकुटीमा तिर्न बाँकी रहेको र सो अस्वाभाविक रहेको बोर्डले जनाएको छ ।

‘अग्रिम रकम नराखे तापनि कारोबार गर्न सीमा प्रदान गरिएको तथा निजले धितोपत्र खरिदबापतको रकम जम्मा नगरेतापनि निजको खातामा धितोपत्र जम्मा गरिदिएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

दीपक भट्टले भृकुटीलाई २ अर्ब ८९ करोड २० लाख तिर्न बाँकी रहेको प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै राजबहादुर शाहले साउन २१ देखि भुकुटी स्टक ब्रोकिङलाई तिर्न बाँकी रकम ८९ करोड ७० लाख ९७ हजार रुपैयाँ रहेको छ ।

शुभी अग्रवालले भृकुटीलाई ६२ करोड ८९ लाख ५६ हजार रुपैयाँ रहेको प्रतिवेदनमा जनाइएको छ । उनले गत वर्ष असार १६ देखि माघ २३ सम्म नेपाल रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर खरिदबिक्री गरेको उल्लेख छ ।

त्यस्तै ऋषिराज मोरले २३ करोड रुपैयाँ रकम तिर्न बाँकी रहेको उल्लेख छ । उनले गत वर्षको वैशाख ३० देखि असोज २७ सम्म हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, एनएलजी र गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको पाइएको छ । शाहले नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर खरिद गरी सीमित रकम मात्रै भुक्तानी गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

बोर्डको अनुसन्धानमा देखिएका कमी कमजोरी उपर आवश्यक कारबाही तोकी सम्बन्धित निकायहरूमा सिफारिस गर्ने निर्णय गत शुक्रबारको सञ्चालक समितिले गरेको बोर्ड स्रोतले जानकारी दिएको छ । धितोपत्र बोर्डको सञ्चालक समितिले स्वीकृत गरेको उक्त प्रतिवेदनउपर नेपाल प्रहरीले आवश्यक कारबाही अघि बढाउने धितोपत्र बोर्डका एक अधिकारीले बताए ।

‘धितोपत्र बजारको हितका लागि बोर्डले गरेको यो ऐेतिहासिक निर्णय हो, यसमा सम्बन्धित निकायहरूले कुनै पनि कसर बाँकी नराखी कार्यान्वयन भए पुँजी बजारमा अनुशासित कारोबारको अभ्यास हुनेछ,’ बोर्डका ती अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

यस्तो कारोबारमा संलग्न भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीलाई बोर्डले निलम्बन गरेको छ । बोर्डले भट्ट र चाचानले ऐनको दफा ९६ को बजारलाई प्रावित पार्ने र ९८ को जालसाजीयुक्त कारोबार गरेको निष्कर्ष निकालेको छ ।

साथै, भट्टले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ को झुठो कारोबार, ९५ को धितोपत्र बजारलाई प्रभावित पर्ने र ९८ को जलसाजीयुक्त कारोबार गरेको देखिएको थप अध्ययनका लागि प्रतिवेदन प्रहरी कार्यलय पठाउने निर्णय बोर्डले गरेको छ ।

शुभी अग्रवाल, राज बहादुर शाह र ऋषिराज मोरबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को र दफा ९८ बमोजिमको कसूर गरेको देखिएको बोर्डले औँल्याएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीमा सिफारिस गरिएको छ ।

हिमालय इन्भेष्टमेन्ट बैंकर लि. र हिमालयन लाइफ इन्स्योरेन्सले ऐनको २०६२ को दफा ९४ को र दफा ९५ बमोजिमको कसूर गरेकाले प्रहरी प्रधान कार्यालय पठाउने निर्णय बोर्डले गरेको छ ।

हिमालय क्यापसर्भ लि., हिमालयन रि इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्युरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गरेको एनएलजी इन्स्योरेन्सको सेयर कारोबारबाट धितोपत्र सम्बन्धी ऐनको दफा ९४ र दफा ९५ बमोजिमको कसूर गरेको हुनाले थप कारबाहीका लागि प्रहरी कार्यालय पठाउने निर्णय गरेको बोर्डले जनाएको छ ।

एनएलजी इन्स्युरेन्स कम्पनीको शेयर मूल्य वृद्धि गराउन शुभी अग्रवाल, हिमालय इन्भेष्टमेन्ट बैंकर, हिमालयन रि इन्स्योरेन्स, एचएलआई लार्ज क्याप फण्ड, हिमालयन क्यापसर्भ लि, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्युरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सको संलग्नता देखिएको बोर्डको अध्ययनले औल्याएको छ ।

उक्त कारोवारहरुबाट धितोपत्र बजारलाई प्रभावित पारेको र जलसाजीयुक्त कारोबार गरेको कसुरमा थप अनुसन्धान गर्न प्रहरी कार्यालय पठाउने निर्णयले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *