सर्लाही, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी १७ वैशाखका लागि संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । 

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार दुवै सदनको बैठक १७ वैशाखको दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

यसै अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ । बजेट १५ जेठमा पेस गर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ । 

२१ फागुनको निर्वाचनपछि बनेको नयाँ प्रतिनिधिसभाको पहिलो अधिवेशन १९ चैतमा सुरु भएर गत २७ चैतमा अन्त्य भएको थियो । अधिवेशनले सभामुख, उपसभामुख र संसदीय समिति चयन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ जित निकालेपछि प्रतिनिधिसभाको शक्ति सन्तुलनमा व्यापक परिवर्तन आएको छ । राष्ट्रिय सभामा भने पुरानै दलको दबदबा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *