सर्लाही, ११ बैशाख । सर्लाही सदरमुकाम मलंगवामा अवैध रुपमा सञ्चालित ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ ।
अनुगमनका क्रममा दर्ता नै नगरिएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिएको हो ।
मलंगवामा अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको जनगुनासो बढेपछि हिजो जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रक, स्वास्थ्य, नगरपालिका, प्रादेशिक अस्पताल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको टोलीले संयुक्त रुपमा अनुगमन गरेको थियो ।
त्यसक्रममा अवैध ढङ्गले सञ्चालित स्वास्थ्य संस्था शिल गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले उज्यालो अभियानसँग बताए ।
अनुगमन टोलीले सर्लाही पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर, ठाकुर सेवा उपचार, कल्याण हेल्थ केयर, सिद्धि गणपति पोलिक्लिनिक, प्रेमा हेल्थ केयर सेन्टर, अन्जली पोलिक्लिनिक, महतो क्लिनिक/निलम फार्मेसी, माली मेडिकल, जय माँ सुनैना हेल्थ केयर, लाइफ लाइन मेडिमेयर पोलिक्लिनिक र नाम नभएको एउटा अल्ट्रासाउण्ड गर्ने क्लिनिक बन्द गराएको छ ।
शिल गरिएकामध्ये चार वटा स्वास्थ्य संस्था दर्ता नभएको पाइएको र अन्य सातवटा स्वास्थ्य संस्था त अनुगमन टोली आएको सुइँको पाउनासाथ बन्द गरेर सञ्चालक नै फरार भएका पाइएको सहायक सिडिओ घिमिरेले जानकारी दिए ।
सञ्चालक नभेटिएको र बन्दसमेत रहेका स्वास्थ्य संस्थामा अनुगमन टोलीले शिल गरेको छ । हिजो बिहानदेखि बेलुकासम्म मलंगवामाका १६ वटा स्वास्थ्य संस्थाको अनुगमन भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसमध्ये दर्ता भएर सञ्चालनमा रहेका पाँचवटा स्वास्थ्य संस्थाहरु कुनै नबीकरण गर्नुपर्ने, कुनैले थप कानूनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेकाले तिनीहरुलाई एक साताभित्र सबै प्रक्रिया पुरा गर्न निर्देशन दिइएको छ ।
यसअघि २०८१ फागुन अन्तिम साता मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री सतीशकुमार सिंहले अनुगमन गर्दा मलंगवाका अधिकांश पोलिक्लिनिक तथा अस्पताल अवैध रहेको पाइएपछि बन्द गराएका थिए ।
त्यसबेला मलंगवामा मात्र १९ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्दा दर्ता नै नभएका र मापदण्ड नपुगेकासमेत गरेर १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिइएको थियो ।
अवैध रुपमा सञ्चालित क्लिनिक तथा अस्पतालहरुले बिरामीलाई मनपरी औषधोपचार गर्ने, चर्को शुल्क असुल्ने, अदक्ष स्वास्थ्यकर्मी राखेर बिरामीको स्वास्थ्यमा खेलवाड गर्नेजस्ता गुनासो आउने गरेको छ ।
एक वर्षअघि तत्कालिन मुख्यमन्त्री सिंहले सर्लाहीको मलंगवा, लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बरहथवालगायतका स्थानमा बन्द गराएका त्यस्ता अस्पताल अहिले खुलेयाम सञ्चालनमा रहेका छन् ।
अनुगमनको प्रमुख जिम्मेवारी पाएका स्थानीय तहले यसतर्फ ध्यान दिएका छैनन् । केही महिनाअघि मात्र लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध रुपमा सञ्चालित एक आयूर्वेद औषधालयमा उपचारका लागि ल्याइएकी किशोरीको मृत्यु भएको थियो । पछिल्लो समय नवलपुर क्षेत्र अवैध पोलिक्लिनिक र अस्पतालको ‘हब’ नै बनेको स्थानीयको भनाइ छ ।
गत वर्ष अस्पताल अनुगमनको क्रममा स्वास्थ्यकर्मीसँग हातपात भएपछि मुद्दा झेल्नु परेको भन्दै लालबन्दी नगरपालिकाका जनप्रतिनिधि अस्पतालको अनुगमनका लागि हच्किएका छन् ।
लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीले गत वर्षको घटनापछि जनप्रतिनिधिहरु डराएकाले स्वास्थ्य संस्थाहरुको अनुगमन गर्न नसकिएको स्वीकार गरेका छन् ।
स्वास्थ्य शाखा प्रमुख मिकरानीले अवैध अस्पताललाई बारम्बार पत्र काटेर तथा अनुगमनकै क्रममा पनि तत्काल बन्द गर्न निर्देशन दिए पनि अटेरी गर्ने परिपाटी रहेको बताए ।
