सर्लाही, १४ बैशाख । भारत मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा परेको छ ।

त्यसमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ को मे १५ मा मणिपुर राज्यको साङ्गाई इन्टरनेसनल युनिभर्सिटीलाई सूचीबाट हटाएको थियो । साथै सो युनिभर्सिटीबाट जारी भएका शैक्षिक उपाधिलाई उच्च शिक्षा र सरकारी रोजगारीका लागि अवैध घोषणा गरेको थियो ।

सोही सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा पढेका ९८ जना नेपालीहरुले समकक्षता प्रमाणपत्र पाउनका लागि त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएका थिए ।

त्यसमा छानबिन गरिरहेको त्रिवि पाठ्यक्रम विकास केन्द्रले ती ९८ जनाको नाम, ठेगाना र उनीहरुले पढेको भनिएको विषय सार्वजनिक गरेको छ ।

साथै सूचनामा लेखिएको छ, ‘तपाईंको नाममा यस केन्द्रबाट जारी गरी प्रदान गरिएका समकक्षता पत्रहरु छानबिन भइरहेकाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले प्राप्त गरेको समकक्षता पत्रको सक्कलप्रति तथा आफूले प्राप्त गरेको उल्लेखित शैक्षिक उपाधिको वैधता पुष्टि गर्ने कुनै आधार प्रमाण भए सोसहित यस केन्द्रमा लिखित रुपमा पेश गर्नुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *