सर्लाही, १४ बैशाख । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार)देखि सुरु हुँदै छ ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन् ।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् ।
यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ । यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज कक्षा १२ को परीक्षा दिँदैछन् ।
परीक्षाका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको छ । यही वैशाख २७ गते परीक्षा सकिने समय तालिका छ ।
यस वर्ष गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेको छ । गत वर्ष ५ लाख ११ हजार ५२५ जना विद्यार्थीले परीक्षा दिएका थिए।
यस वर्ष गतको तुलनामा ९२ हजार ७२५ जना कम विद्यार्थी छन् ।
बोर्डले यस गत वर्ष नियममित र ग्रेडवृद्धि परीक्षाको नतिजामा पनि अघिल्ला वर्षहरूभन्दा सुधार देखिएकाले आंशिकतर्फ विद्यार्थी संख्या घटेकाले यस वर्ष विद्यार्थी संख्या घटेको देखिएको जनाएको छ ।
गत वर्ष कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
