सर्लाही, १५ बैशाख ।  सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवले नगरक्षेत्रका संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरूसँग सोमबार छलफल गर्दै शैक्षिक गुणस्तर सुधार र पाठ्यपुस्तकमा एकरूपता कायम गर्न पुनः जोड दिएका छन् ।

नगरपालिकामा आयोजित उक्त छलफलमा शिक्षण पद्धतिमा समानता, पाठ्यपुस्तक व्यवस्थापन तथा विद्यालयस्तरमा गुणस्तरीय शिक्षा प्रवद्र्धनका विषयमा केन्द्रित बहस भएको थियो ।

मेयर यादवले विशेषगरी निजी विद्यालयहरूमा प्रयोग हुने पाठ्यपुस्तकमा एकरूपता ल्याउन आवश्यक रहेको औंल्याउँदै सबै विद्यालयबीच समन्वय र सहकार्यको खाँचो औंल्याए ।

उनले नगरपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि नीतिगत पहल गरिरहेको उल्लेख गर्दै संस्थागत विद्यालयहरूको सक्रिय सहकार्य बिना अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताए । साथै, विद्यार्थीमैत्री वातावरण निर्माण, गुणस्तरीय शिक्षण सुनिश्चितता र अभिभावकको विश्वास कायम गर्न विद्यालयहरूलाई जिम्मेवार बन्न आग्रह गरे ।


छलफलमा सहभागी विद्यालय सञ्चालकहरूले पाठ्यपुस्तक छनोट, शुल्क व्यवस्थापन र शैक्षिक प्रतिस्पर्धाका विषयमा आफ्ना धारणा राखेका थिए । उनीहरूले नगरपालिकासँग सहकार्य गर्दै शिक्षा सुधारका कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

यद्यपि, कतिपय संस्थागत विद्यालयका सञ्चालकहरूले पाठ्यपुस्तक एकरूपतासम्बन्धी निर्णय अघिल्लो शैक्षिक सत्रमै गरिएको भए पनि केही विद्यालयले अदालतबाट ‘स्टे अर्डर’ ल्याएर कार्यान्वयनमा अवरोध सिर्जना गरेको विषय उठाएका छन् ।

यस्तो अवस्थामा निर्णय कार्यान्वयनको स्पष्ट कार्ययोजना आवश्यक रहेको उनीहरूको भनाइ छ ।

यसैबीच, अघिल्लो शैक्षिक सत्रमा गरिएको संस्थागत विद्यालयहरूको अनुगमनको प्रतिवेदन हालसम्म सार्वजनिक हुन नसकेको विषयसमेत छलफलमा उठाइएको थियो ।

सहभागीहरूले पारदर्शिता कायम गर्न उक्त प्रतिवेदन सार्वजनिक गर्न नगरपालिकासँग माग गरेका छन् ।


नगरपालिकाले आगामी दिनमा शिक्षा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न थप समन्वय, अनुगमन र संवादका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *