सर्लाही, १५ बैशाख । पूर्वमन्त्री सञ्जयकुमार साह ‘टकला’ विरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ ।
न्यायाधीश बालकृष्ण ढकाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले संजय कुमार साहसहित विभिन्न व्यक्तिविरुद्ध दर्ता भएका १६ वटा मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ ।
अदालतमा सोमबार इजलासमा पेश गरिएका ती मुद्दामध्ये केहीमा गम्भीर लापरवाही देखिएको छ । विशेषगरी दुई वटा मुख्य मुद्दासंग सम्बन्धित कागजात (मिसिल) नै नष्ट भएको वा फेला नपरेको भन्दै सर्वोच्च अदालतले सम्बन्धित निकायलाई तत्काल ती मिसिल खोजी गरी पेश गर्न आदेश दिएको छ ।
यी मुद्दामध्ये एउटा महत्वपूर्ण मुद्दामा संजय कुमार साह टकलाकी श्रीमती रंगिला देवी साहसहित ११ जना प्रतिवादी रहेका छन् । उनीहरूविरुद्ध संयुक्त रूपमा मात्र नभइ छुट्टाछुट्टै रूपमा पनि सम्पत्ति शुद्धीकरण तथा श्रोत नखुलेको रकमसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । तर यस्ता गम्भीर प्रकृतिका मुद्दामा आवश्यक कागजात नै हराउनु वा नष्ट हुनु न्यायिक प्रक्रियाकै लागि चिन्ताजनक विषय बनेको छ ।
अदालतले मिसिल अभावका कारण सुनुवाइ प्रभावित हुन सक्ने भन्दै सम्बन्धित कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ ।
अब ती मिसिल कहाँ हराए, कसरी नष्ट भए र त्यसमा कसको लापरवाही छ भन्ने प्रश्न पनि उठ्न थालेको छ । यसैबीच संजय कुमार साहविरुद्ध ‘विविध’ शीर्षकमा उल्लेख गरिएको मुद्दा वास्तवमा भ्रष्टाचारसंग सम्बन्धित रहेको स्पष्ट भएको छ ।
यसले मुद्दाको गम्भीरता झन् बढाएको छ । यस घटनाले न्यायिक प्रणालीमा कागजात व्यवस्थापनको अवस्थामाथि समेत प्रश्न उठाएको छ।
महत्वपूर्ण मुद्दाका मिसिल नै हराउनु सामान्य त्रुटि मात्र हो वा यसमा कुनै नियोजित पक्ष लुकेको छ भन्ने विषय अब अनुसन्धानको दायरामा पर्न सक्ने देखिन्छ ।
अदालतको आदेशपछि अब सम्बन्धित निकायले ती हराएका मिसिल खोज्न कतिको सक्रियता देखाउँछन् भन्ने चासोको विषय बनेको छ ।
२०७६ फागुन १५ मा विशेष अदालतले साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष जेल सजाय र १९ करोड ४४ लाख ३८ हजार ९८३ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै जफत गर्न र सोही बराबरको जरिवाना तिराउन आदेश दिएको थियो ।
त्यस्तै विशेष अदालतले साहबाट १४ करोड २५ लाख एक हजार ७१६ रुपैयाँ सम्पत्ति शुद्धीकरण भएको ठहर गरेको थियो । २०७६ फागुन २९ मा विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा साहलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
विशेष अदालतले सजाय निर्धारण गरेको फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोज ५ गते भ्रष्टाचार मुद्दा र असोज ९ गते सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
साह २०७७ असोज १२ मा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए । साहविरुद्ध २०७३ पुस २५ मा अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनी विरुद्ध ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले आठ जनालाई प्रतिवादी बनाएको थियो ।
२०७४ चैत १६ मा साहविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३२ करोड चार लाख ५० हजार ३०४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गर्दै सञ्जय साहका बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साहसहित १२ जनालाई प्रतिवादी बनाएको थियो ।
उनीहरूमध्ये रामकुमार साहलाई एक वर्ष ८ महिना कैद तथा बाँकीलाई दुई वर्ष ६ महिना कैद सजाय हुने विशेष अदालतले फैसला गरेको थियो । साहविरुद्ध अख्तियारमा उजुरीपछि छानबिन गर्दा उनको सम्पत्ति अस्वाभाविक देखिएको छ ।
विभागले गरेको अनुसन्धानमा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइ रामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डे गरी कुल १२ जना प्रतिवादीसमेतको मिलेमतोमा लुकाएको दाबी गरेको थियो ।
