सर्लाही, १६ बैशाख । महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकमा प्रतिघण्टा ४० देखि ८० को गतिमा गाडी चलाउन पाइने भएको छ ।
निर्माण सम्पन्न भएको स्थानमा यतिको गतिमा गाडी चलाउन दिइने भएको हो । यस सडक खण्डको निर्माण ८१ प्रतिशत सकिए पनि समथर स्थानमा लगभग पूरा भएको छ ।
सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चूडाराज ढकालका अनुसार सिधा र समथर स्थानमा ‘स्पिड लिमिट’ प्रतिघण्टा ८० र बजार क्षेत्र तथा राजमार्ग वारपार गर्ने (क्रसिङ रहेको) स्थानमा प्रतिघण्टा ६० किमि गति कायम गरिएको छ ।
दुम्कीबास र बर्दघाटको बीचमा पर्ने करिब १४ किलोमिटर खण्ड दाउन्नेको उकालोमा भने ४० किमि प्रतिघण्टाभन्दा बढीमा कुदाउन नपाइने नियम राखिएको छ ।
प्रतिघण्टा ८०, ६० र ४० को स्पिडमा गाडी चलाउन पाइने संकेत चिह्नहरू ठाउँठाउँमा राख्न थालिएको छ । त्यसका लागि राजमार्गका दुवै किनारमा पहेंलो र बीचभागमा सेतो चिह्न (धर्सा) कोर्ने काम भइरहेको छ ।
तोकिएभन्दा बढी गतिमा गाडी कुदाउने चालकलाई ‘स्पिड गन’ (गति मापनयन्त्र) लिएर बसेका ट्राफिक प्रहरीले ठाउँको ठाउँ जरिवाना तिराउने व्यवस्था गरिएको छ ।
राजमार्गको गति किटान भइसकेका ठाउँमा संकेत चिह्न राखिएपछि प्रहरीले ‘स्पिड गन’ राखेर चालकको निगरानी बढाउने जिल्ला ट्राफिक प्रहरी कुशल बर्तौलाले जानकारी दिए ।
राजमार्गमा आवश्यक पर्ने स्थानमा ट्राफिक संकेत चिह्न राखेर लेन अनुशासन पालना गराउन ट्राफिक प्रहरीले ध्यान दिने उनले सुनाए । ६ लेनसम्मको यो राजमार्गमा लेन अनुशासन पालना गर्ने/गराउने काम चुनौतीपूर्ण छ ।
मुख्य बजारमा ६ लेन, अन्यत्र ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्माण भइरहेको छ । दाउन्नेको उकालो र पानी रसाउने स्थानमा ढलान सडक निर्माणको काम अन्तिम चरणमा छ ।
दाउन्ने पहाडमा वैशाख मसान्तसम्म एकतर्फी राजमार्ग सुचारु गर्ने गरी काम भइरहेको आयोजना निर्देशक ढकालले जानकारी दिए । निर्माण सकिएको स्थानको भुइँमा मार्किङ गरेर चिरिच्याट्ट पारिएको छ ।
बुटवल–नारायणगढ सडकअन्तर्गत पूर्वी खण्डमा पर्ने गैंडाकोटदेखि दुम्कीबाससम्मको ६१ किलोमिटर सडक निर्माणको काम लगभग सकिएको छ ।
दाउन्नेको करिब १४ किलोमिटर सडकमा कालोपत्र र ढलान सडकको काम भइरहेको छ । त्यस्तै बर्दघाटदेखि पश्चिम बुटवलसम्मको सडक निर्माणको अधिकांश काम सकिएको छ ।
अहिले राजमार्गका दुवै किनारमा डिभाइडर राख्ने काम भइरहेको छ ।
अहिले कायम गरिएको गतिमा गाडी कुदाउँदा नारायणगढदेखि बुटवलसम्मको १ सय १४ किलोमिटर सडक पार गर्न करिब २ घण्टा समय लाग्ने अनुमान छ ।
८० किमि प्रतिघण्टाको गतिमा सवारी कुदाउँदा डेढ घण्टा लाग्छ भने ६० किमि प्रतिघण्टाको गतिमा सवारी चलाउँदा १ घण्टा ५४ मिनेट लाग्छ । यस्तै ४० किमि प्रतिघण्टाको सवारी साधनलाई सोही दूरी पार गर्न २ घण्टा १२ मिनेट लाग्छ ।
