काठमाडौं, १७ बैशाख । अमेरिकाले इरान विरूद्धको युद्धमा भएको खर्च विवरण सार्वजनिक गरेको छ ।

युद्ध सुरू भएको तेस्रो महिना लाग्दा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले पहिलो पटक खर्च विवरण सार्वजनिक गरेको हो ।

अमेरिकी अखबार द न्युयोर्क टाइम्सले इरानविरूद्ध युद्धको सुरूवातदेखि अहिलेसम्मको खर्च २५ अर्ब डलर पुगेको भनेर पेन्टागनलाई उद्धृत गरेर लेखेको छ ।

अमेरिकी रक्षा मन्त्रालयका उच्च अधिकारी जे हर्स्टले प्रतिनिधिसभाअन्तर्गत सशस्त्र सेवा समितिमा बोल्दै अधिकांश खर्च बम, मिसाइललगायत सैन्य सामग्रीमा गएको जानकारी दिएका छन् ।

तर उक्त अनुमानमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाको पुनर्निर्माण वा मर्मत खर्च समावेश गरिएको छ कि छैन भन्ने स्पष्ट गरिएको छैन ।

समितिका शीर्ष डेमोक्र्याट सदस्य एडम स्मिथले लामो समयदेखिको माग पूरा भएको बताए ।

‘हामीले अगाडिदेखि नै सोधिरहेका थियौं। तर कसैले पनि ठोस संख्या दिएको थिएन,’ उनले भने।

यो २५ अर्ब डलर रकम चालु वर्षको अमेरिकी अन्तरिक्ष संस्था नासाको कुल बजेट बराबर भएको बताइएको छ ।

यद्यपि युद्ध सुरु भएको पहिलो ६ दिनमै ११.३ अर्ब डलर खर्च भएको अनुमान सार्वजनिक भएको सन्दर्भमा यो कुल लागत कसरी गणना गरियो भन्ने अझै अस्पष्ट छ ।

रक्षा मन्त्री पिट हेगसेथले भने उक्त खर्चलाई उचित ठहर गर्दै इरानलाई आणविक हतियार हासिल गर्न नदिनु नै मुख्य लक्ष्य रहेको बताएका छन् ।

‘इरानले आणविक बम नपाओस् भनेर तपाईं कति मूल्य तिर्न तयार हुनुहुन्छ?,’ उनले सांसदहरूला प्रश्न गरे ।

तर युद्धबारे संसदभित्र तीव्र विवाद देखिएको छ ।

सुनुवाइका क्रममा हेगसेथले डेमोक्र्याट सांसदहरूलाई ‘अविवेकी, कमजोर र पराजयवादी’ भन्दै कडा आलोचना गरेका थिए । यसले बैठक तनावपूर्ण बनेको थियो र समिति अध्यक्षले समेत उनलाई संयम अपनाउन चेतावनी दिनुपरेको थियो ।

अमेरिकी सेनाले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण सुरु गरेको थियो। हाल दुवै पक्षबीच कमजोर युद्धविराम कायम भए पनि क्षेत्रीय तनाव अझै जारी छ । पेन्टागनले मध्यपूर्वमा हजारौँ थप सैनिक परिचालन गरेको छ भने तीनवटा विमानवाहक जहाजसमेत तैनाथ गरिएको छ ।

युद्धमा हालसम्म १३ देखि १४ जना अमेरिकी सैनिकको मृत्यु भएको र सयौँ घाइते भएका छन् । संयुक्त सैन्य प्रमुख जनरल ड्यान केनका अनुसार दुई महिनाको युद्धपछि “इरान दशकौँयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको” दाबी गरिएको छ ।

तर युद्धको अन्त्य कहिले र कसरी हुन्छ भन्नेबारे स्पष्ट योजना सार्वजनिक गरिएको छैन ।

डेमोक्र्याट सांसदहरूले युद्धको उद्देश्य र उपलब्धिबारे प्रश्न उठाउँदै आलोचना गरिरहेका छन् ।

युद्धले अमेरिकी आन्तरिक राजनीतिमा पनि प्रभाव पारेको छ ।

 इन्धन र मलजस्ता वस्तुको मूल्य बढेपछि महँगी चुलिएको छ, जसले मतदातामा असन्तुष्टि बढाएको छ। एक सर्वेक्षणअनुसार इरान युद्धप्रति अमेरिकी जनसमर्थन घट्दै ३४ प्रतिशतमा झरेको छ ।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा पनि गिरावट आएको छ ।

आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा युद्धको लागत र प्रभाव अमेरिकी राजनीतिमा मुख्य मुद्दा बन्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *