सर्लाही, २० बैशाख । पछिल्लो तीन घण्टामा गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ ।
गण्डकीको दमकौलीमा सबैभन्दा धेरै ५२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै राइनासटार र मधेशको बाणगङ्गा स्टेशनमा ३९ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि अहिले हल्का पानी परिरहेको छ ।
आज देशको पहाडी र हिमाली भागमा बादल लाग्नेछ । आज लुम्बिनी प्रदेशको पहाडी भागको एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै मधेश, कोशी प्रदेशलगायतका तराई भागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।
विशेष गरी यो हप्ता कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशमा पानी पर्न सक्ने अनुमान छ ।
