सर्लाही, २० बैशाख । सर्लाहीमा मिर्गौला (किड्नी) डायलासिस सेवा सुरु भएको छ । ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित नगर अस्पतालमा जिल्लामै पहिलो पटक डायलासिस सेवा सुरु गरिएको हो ।
डायलासिस सेवाको शुक्रबार मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गलीलाल रायले उद्घाटन गर्नुभयो ।
यस क्षेत्रका मिर्गौला रोगीलाई अब डायलासिस गराउन बर्दिवास, जनकपुर, वीरगन्ज, भरतपुर तथा काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
पूर्व सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको कार्यकालमा मन्त्रालयबाट प्राप्त दुई थान डायलासिस मेसिनमार्फत सेवा सुरु गरिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।
सङ्घीय सरकारबाट आवश्यक प्राविधिक तथा सञ्चालन खर्च प्राप्त गर्न कम्तीमा पाँचवटा डायलासिस मेसिन सञ्चालनमा हुनुपर्ने प्रावधान रहेकाले त्यसका लागि पहल भइरहेको ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत सुगेन्द्र महतोले बताउनुभयो । उहाँका अनुसार हाल दुईवटा मेसिनबाट दैनिक दुई जनालाई मात्र डायलासिस सेवा प्रदान गर्न सकिनेछ ।
नगरपालिकाले मधेश प्रदेश सरकारसँग थप तीन थान डायलासिस मेसिन ल्याएर पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने पहल अघि बढाएको छ । सेवा उद्घाटनका क्रममा स्वास्थ्यमन्त्री रायले आवश्यक तीन थान डायलासिस मेसिन तथा प्राविधिक प्रदेश सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मधेश प्रदेश सरकारले साना योजनाभन्दा बढी नागरिक लाभान्वित हुने ठुला योजनामा बजेट केन्द्रित गर्ने निर्णय गरेको मन्त्री रायले बताउनुभयो । उहाँले कर्मचारीतन्त्रको ढिलासुस्ती र फाइल अल्झाउने प्रवृत्तिका कारण काम गर्न कठिन भइरहेको गुनासोसमेत गर्नुभयो ।
डायलासिस सेवा सञ्चालनका लागि ईश्वरपुर नगरपालिकाले नयाँ स्वास्थ्यकर्मी नियुक्त गर्नुका साथै कार्यरत स्वास्थ्यकर्मीलाई तालिमसमेत प्रदान गरेको छ ।
डायलासिस असिस्टेन्टका रूपमा सुस्मिता सिंहलाई नियुक्त गरिएको छ भने नगर अस्पतालमै कार्यरत डा. दीर्घनारायण दास र स्टाफ नर्स ममता साहलाई आवश्यक तालिम प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक महतोले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखाका अनुसार ईश्वरपुर नगरपालिकावासीलाई डायलासिस सेवा निःशुल्क उपलब्ध गराइनेछ भने अन्य पालिकाका सेवाग्राहीबाट प्रतिपटक दुई हजार ५०० रुपियाँ शुल्क लिइनेछ ।
डायलासिसका क्रममा आवश्यक पर्ने रगतका लागि प्रादेशिक अस्पताल मलङ्गवास्थित ब्लड बैंकसँग समन्वय गरिने नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारका स्वास्थ्यमन्त्री रायले नगर अस्पतालमै ब्लड बैंक स्थापना गर्न यसै वर्ष बजेट व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । सर्लाहीकै प्रदेशसभा सदस्यसमेत रहेका मन्त्री रायले जिल्लामै पहिलो पटक डायलासिस सेवा सुरु हुनु स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धि भएको बताउनुभयो ।
