सर्लाही, २१ बैशाख । नेपालको परराष्ट्र मन्त्रालयले आइतबार साँझ लिपुलेक मुद्दामा भारत र चीनलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा सार्वजनिक गरेको समाचार आएसँगै भारतले पनि प्रतिक्रिया दिएको छ ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीपछिको ‘मिडिया चासो’को चर्चा गर्दै भारतीय विदेशी मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले नेपालको दाबी ‘आधारहिन र ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको’ बताएका छन् ।
भारतले लिपुलेक भङ्ज्याङ हुँदै सन १९५४ बाटै कैलाश मानसरोबर यात्रा गरेको भन्दै भारतले नेपालको विरोधलाई अस्वीकार गरेको छ ।
अहिलेसम्म चीनको भने कुनै औपचारिक प्रतिक्रिया आएको छैन । भारतको विदेश मन्त्रालयले भारत नेपालसँगको ‘रचनात्मक अन्तरक्रिया’ सधैँ खुला भएको पनि उल्लेख गरेको छ ।

