सर्लाही, २२ बैशाख । भारत र चीनस्थित नेपाली दूतावासहरूमा सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधि राख्ने प्रस्ताव अघि बढाइएको छ ।

सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले दुई छिमेकी देशमा आफ्नो प्रतिनिधि राख्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको छ । राजु अर्याल आईजीपी (महानिरीक्षक) रहेकै बेला यो प्रस्ताव अघि बढाइएको हो ।

१८ वैशाखदेखि अवकाशमा गएका अर्यालको पालामा सीमासम्बन्धी समस्या हेर्नका लागि भन्दै दुई छिमेकी मुलुकका नेपाली दूतावासमा सशस्त्रको प्रतिनिधि राख्नुपर्ने प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव त्यतिबेला सशस्त्र हेडक्वार्टर हल्चोकले गृहमा पठाएको थियो ।

अर्यालको कार्यकालमा भएका महत्त्वपूर्ण कामहरू र भावी योजना तथा कार्यदिशाबारे दूतावासमा सशस्त्र प्रहरीको प्रतिनिधि राख्नेबारे पनि उल्लेख छ ।

सशस्त्रले प्रस्ताव गरेर मन्त्रालय पठाए पनि काम बाँकी रहेकाले यसलाई पाइपलाइनमा राखिएको उल्लेख गरिएको छ । सीमा सुरक्षाको जिम्मेवारी सशस्त्रको रहेकाले सीमा समस्याका विषय हेर्ने गरी सशस्त्र प्रहरीको प्रतिनिधि राख्नुपर्ने प्रस्ताव हेडक्वार्टरले गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्ट बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *