सर्लाही, २२ बैशाख । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा करिब दुई अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ । 

चितवनमा रोयल टुलिप रिर्सोट सञ्चालन गरेका गैरआवासीय नेपाली संघका पुर्वउपाध्यक्ष रामेश्वर शाहको अव जनकपुरधाममा मिथिला हस्पिटालिटीको नाममा सेवा विस्तार गर्न लागेका हुन् ।

मिथिला होस्पिटालिटी प्रालिको पहलमा निर्माण हुन लागेको उक्त होटलको शिलान्यास सोमबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, प्रतिनिधि सभा सदस्य मनिष झा, उद्योगपति उपेन्द्र महतोले संयुक्त रूपमा गरेका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका–१ मा, सिक्स लेन सडकछेउ र भाटभटेनी सुपरमार्केट नजिक करिब सवा दुई बिघा क्षेत्रफलमा होटल निर्माण गरिनेछ ।

प्रालिका अध्यक्ष रामेश्वर शाहले का अनुसार होटलमा १२४ वटा आधुनिक कोठा रहनेछन्, जसमा ८ वटा विलासी सुइटसमेत समावेश हुनेछन् । करिब १ लाख २० हजार वर्गफिट निर्मित क्षेत्रफल रहने यस परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । 

होटलमा क्यासिनो, सभा तथा बैंक्वेट हल, व्यापार केन्द्र, बहुउद्देश्यीय स्विमिङ पूल, स्पा, हेल्थ क्लब, टेनिस कोर्ट, एम्फीथिएटर, ईभी चार्जिङ स्टेशन र बालबालिकाका लागि खेल क्षेत्रजस्ता आधुनिक सुविधा रहनेछन् ।

परियोजना सम्पन्न भएपछि प्रत्यक्ष रूपमा करिब १५० जनाले रोजगारी पाउने र स्थानीय स्तरमा अप्रत्यक्ष रोजगारी तथा आर्थिक गतिविधि समेत बढ्ने सञ्चालक शाहको दाबी छ । 

लगानीकर्ताहरूका अनुसार यो परियोजनाले जनकपुरधामलाई पर्यटन तथा वैवाहिक गन्तव्यका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । यसअघि प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) ले पनि जनकपुरलाई पर्यटन हबको रूपमा विकास गर्ने अवधारणा अघि सारेका थिए, जसलाई यो लगानीले थप टेवा दिने विश्वास लिइएको छ। 

कार्यक्रममा मुख्यमन्त्री यादवले यस्ता होटलहरुको विकासले प्रदेशमा पर्यटकीय उद्योगमा टेवा पुग्ने बताए। मधेशमा पर्यटन व्यवसायको सम्भावना धेरै रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले पर्यटन प्रवर्धनमा लागानी गरिरहेको बताए । 

कार्यक्रममा सांसद मनिष झाले लगानीकर्ताको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने धारणा राख्दै अब मधेशमा लगानी वातावरण सुरक्षित हुने विश्वास व्यक्त गरे ।

उनले विगतमा लगानीकर्ताले भोगेका अनावश्यक अवरोधहरू दोहोरिन नदिने प्रतिबद्धता जनाए। त्यसैगरि, उद्योगपति महताले नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए ।

उनले नेपालका मौलिक विशेषताहरू अन्य देशहरूले ठूलो लगानी गरेर पनि सजिलै सिर्जना गर्न नसक्ने उल्लेख गरे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *