सर्लाही, २२ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द परिपत्र गरेको छ ।
मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले आज सबै मन्त्रालय, विभाग, आयोग र सचिवालयसहितका सबै निकायहरुलाई पत्र पठाउँदै ट्रेड युनियनका कार्यालय बन्द गर्न भनेको हो ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ बाट निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएको व्यहोरा विदितै छ ।
उक्त सन्दर्भमा, तहाँ तथा अन्तर्गतका निकायहरूमा रहेका निजामती कर्मचारीसँग सम्वन्धित ट्रेड युनियन (आधिकारिक ट्रेड युनियन समेत) का विभागीय तथा अन्य समितिका कार्यालयहरू बन्द गरी, उक्त समिति र समितिमा आवद्व रहेका कर्मचारीहरुले ट्रेड युनियनको प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारी साधन लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्ति उपयोग गरेको भए सम्बन्धित कार्यालयले फिर्ता लिई ट्रेड युनियनका विभिन्नस्तरका समितिमा आबद्व भएका कर्मचारीहरुलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनु हुन’ परिपत्रमा भनिएको छ ।
