सर्लाही, २४ बैशाख । सिरहाको बरियारपट्टीस्थित हुलाकी मार्ग बुधबार बिहानदेखि स्थानीयवासी र व्यापारीले अवरुद्ध गरेका छन् ।
नेपाल सरकारले मिति २०८३ वैशाख २४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टिमा छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।
बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर हुलाकी मार्ग अवरुद्ध गरेका छन् । बिहान करिब ८ः३० बजेदेखि सुरु भएको अवरोधका कारण सो क्षेत्रको यातायात प्रभावित बनेको छ ।
प्रदर्शनमा बजार व्यवस्थापन समिति अध्यक्ष अम्बेय कुमार यादव, सुखीपुर उद्योग व्यापार समिति सचिव सञ्जय कुमार यादव, वडा अध्यक्ष विनोद यादवलगायत करिब एक सय जनाको सहभागिता रहेको बताइएको छ ।
प्रदर्शनकारीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
आन्दोलनका कारण हुलाकी मार्ग भएर सञ्चालन हुने सवारी साधन आवतजावतमा समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् ।
