काठमाडौं, २५ बैशाख । । भारतीय विदेश मन्त्रालयले लिपुलेक विवादमा नेपालसँग संवादका लागि तयार रहेको बताएको छ । बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्तो बताएका हुन् ।
उनले भने ‘कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दै आएको छ । यो कुनै नयाँ चीज होइन, हामीले प्रस्ट रुपमा भनेका छौं उनीहरुको दाबी ठिक छैन । बाँकी हाम्रो र नेपालबीच जतिपनि मुद्दा छन् हामी संवादमा बसेर चर्चा गर्न तयार छौं ।’
साथै, उनले सीमा विवादबारे पनि वार्तामा बसेर संवाद गर्न तयार रहेको बताए । उनले भने ‘फलानो चिज हाम्रो हो, यसमा हाम्रो पोजिसन छ भनेर एकतर्फ दाबी गर्नु ठिक होइन । केही विवाद छ भने हामी बसेर संवाद गर्न सक्छौं ।’
साथै उनले नेपालाई तेल र मल पनि दिन तयार रहेको बताए। उनले भने – ‘नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध छ। दुवै देशबीच आदानप्रदान चलिरहेको छ। सम्झौता अनुसार तेल र मल आपूर्ति प्रदान गर्नेछौं ।’
