सर्लाही, २५ बैशाख । हालै जारी गरिएको अध्यादेश अनुसार कानुनी प्रावधान संशोधन भएसँगै संघीय संसद् सचिवालय अन्तर्गतको कर्मचारी युनियन अब कानुनी रूपमा अस्तित्वमा नरहेको जानकारी सार्वजनिक गरिएको छ ।
संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, संवत् २०८३” मार्फत “संघीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४” को दफा ७३ मा रहेको व्यवस्था परिमार्जन गरिएको हो ।
संशोधित कानुनी प्रावधानपछि उक्त ऐनअन्तर्गत स्थापना भएको कर्मचारी युनियनसम्बन्धी व्यवस्था हटाइएको जनाइएको छ । सोही कारण अब कर्मचारी युनियनको औपचारिक अस्तित्व नरहेको सचिवालयले स्पष्ट पारेको छ ।
सचिवालयले मिति २०८३/०१/२४ मा भएको निर्णय अनुसार यो व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिँदै सबै सरोकारवालालाई जानकारीका लागि सूचना प्रकाशित गरिएको जनाएको छ ।

