सर्लाही, २५ बैशाख । सर्लाही सदरमुकाम मलंगवामा स–साना बालकको समूहले सुन चोरी गरेर ल्याउने र उनीहरुका आमाहरु मिलेर लुकाउने गरेको घटना सार्वजनिक भएको छ । 

यही वैशाख २१ गते मलंगवा नगरपालिका–८, हनुमान टोलका राजीव शर्माको घरबाट ठूलो परिमाणमा गरगहना चोरी भएको थियो । प्रहरीले सो घटनाबारे अनुसन्धान गर्दै जाँदा स–साना बालक मिलेर गनगहना चोरी गरेको र घर लगेपछि उनीहरुका आमाहरु मिलेर लुकाएको तथ्य बाहिर आएको हो । 

प्रहरीले शर्माको घरबाट गरगहना चोरीमा संलग्न तीन जना बालक र दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका दुई महिला बालकहरुकै आमा हुन् । 

गरगहना चोरी गर्ने तीनै जना बालक यसअघि पनि चोरीको घटनामा संलग्न भई सुधार गृहमा बसेर भर्खरै छुटेका थिए । उनीहरु ११, १४ र १५ बर्षका छन् । 

उनीहरुको आमा ३५ र ४० वर्षका छन् । बालकहरुको परिचय गोप्य राख्नुपर्ने भएकाले प्रहरीले उनीहरुको आमाकोसमेत नाम सार्वजनिक गरेको छैन् ।

पक्राउ परेका तीन बालक र दुई महिलालाई सर्लाही जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा तीन दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुको घर खानतलासी गर्दा राजीब शर्माको घरबाट चोरी भएको गरगहना बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो । 

बालकहरुले चोरी गरेर आ–आफ्नो आमालाई घरमा लगेर राख्न दिएको चाँदीको झुप्पा दुई थान, सुनको औँठी एक थान, चाँदीको बाला दुई थान, चाँदीको खुट्टामा लगाउने बाला एक थान, सुनको मङ्गल सुत्र एक थान, चाँदीको पाउजु तीन थान, चाँदीको बिछिया एक थान, सुनको तिलहरी एक थान, पोतेसहितको तिलहरी एक थान, सानो तिलहरी मोतीसहितको एक थान, मोती तीन थान, सुनको बाला एक थान, कानमा लगाउने सुनको टप पाँच थान, एक थान मोवाइल, बैङ्कको चेकबुक घडीलगायतका सामग्री प्रहरीले बरामद गरेको छ ।

मलंगवा बजार क्षेत्रमा बारम्बार चोरीको घटना भइरहेकाले अन्य घटनामा पनि अहिले पक्राउ परेका बालकहरुको संलग्नता रहेको आशङ्कामा अनुसन्धान गरिरहेको डिएसपी राईले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *