सर्लाही, २५ बैशाख । संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले कार्यसम्पादनका आधारमा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) को अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्यांकन गर्दा डा. शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिएको प्रधानमन्त्री सचिवालयको भनाइ छ ।
न्यायपालिकाको इतिहासमै पहिलोपटक विद्यावारिधि गरेका र मुद्दा फर्स्याेटमा न्यायाधीश शर्माले सर्वाधिक उच्च रेकर्ड कायम गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
‘सर्वोच्च अदालतको तथ्यांकअनुसार, प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डा. शर्माले सात हजार ३८८ मुद्दा र निवेदनहरूको अन्तिम टुंगाे लगाउनुभएको छ ।
यो संख्या अन्य प्रस्तावित न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च हो। पछिल्लो आर्थिक वर्ष ०८०/८१ मा मात्रै उहाँले दुई हजार १८१ मुद्दा किनारा लगाउनुभएको छ ।
प्रस्तावित न्यायाधीशहरूमध्ये सात हजारको आँकडा पार गर्ने उहाँ एक्लो न्यायाधीश हुनुहुन्छ, जसले न्याय सम्पादनमा उहाँको सक्रियता र गतिलाई स्पष्ट रूपमा पुष्टि गर्दछ,’ प्रधानमन्त्रीकाे सचिवालयले भनेको छ ।
