सर्लाही, २६ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सरकारले उद्योगी र व्यवसायीलाई धरपकड गर्दै छ’ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘निजीक्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन । तपाईंहरू हल्लाको पछि नपर्नुस्, तपाईंहरू हाम्रो साझेदार हो ।’

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजीक्षेत्र साझेदार रहेको पनि बताए । कार्यक्रममा बोल्दै उनले सरकारका पाँच प्राथमिकताहरूबारे पनि प्रस्ट्याएका थिए ।

उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन हो । दोस्रो, अर्थतन्त्रको पुनरुत्थान हो भने तेस्रो, मुलुकमा आन्तरिक र बाह्य ‘कनेक्टिभिटी’ हो ।

यस्तै, चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौ पर्यटन, संस्कृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार हो ।

अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे ।

राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रको केही सूचकहरू समान रहेको बताए ।

‘सन् २०१४/२०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो । तर, पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो । हामी पनि सोही बाटो लाग्नेबेला भएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *