सर्लाही, २८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आज साझ सात बजेपछि सार्जजनिक गर्ने तयारी गरेको छ । अहिले साँझ ५ बजे बोर्ड सदस्यहरूलाई डेमो देखाउने र त्यसको डेढ दुई घण्टापछि नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘साँझ पाँच बजे मिटिङ बस्दै छौँ, डेमो देखाउने कार्यक्रम पनि रहेको छ, त्यसपछि हामीलाई डेढ दुई घण्टा तयारीको समय लाग्छ, हामी ७ बजेपछि पत्रकारसाथीहरूलाई बोलाउने तयारी गरिरहेका छौँ ।’
यसवर्ष पहिलो पटक परीक्षा सकिएको एक महिनाभित्रै एसईईको नतिजा सार्वजनिक हुन लागेको हो । एसईई परीक्षा गएको १९–२९ चैतसम्म सञ्चालन भएको थियो । ५ लाख १२ हजार ४२१ जनाले यस वर्ष एसईई दिएका छन् ।
नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले यस वर्ष एसईई दिएका हुन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको नतिजा एसएमएस गरेर, आईभीआर वा सिधै वेबसाइटमा गएर हेर्न सकिनेछ ।
एसएमएसमार्फत कसरी हेर्ने ?
एसएमएस र आईभीआरमार्फत नतिजा नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि र एम्बिसन गुरुबाट हेर्न सकिन्छ । नेपाल टेलिकमार्फत हेर्नका लागि एसएमएस र आईभीर दुवैका लागि १६०० कोड प्रयोग गर्न सकिन्छ ।
एम्बिसन गुरुमार्फत ३१०६१ मा र जानकी टेक्नोलोजिमाफर्त हेर्नका लागि ३५००१ मा एसएमएस गर्न सकिने कार्यालयले जनाएको छ ।
