सर्लाही, २८ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको घुस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी लगायतमाथि मुद्दा नचल्ने भएको हो ।
उनीहरूमाथि अनुसन्धान भइरहेको भनी विशेष अदालतमा जानकारी पठाएको अख्तियारले ‘केही पनि प्रमाण नभेटिएको’ भन्दै मुद्दा नचल्ने गरी फाइल बन्द गरेको हो ।
‘तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईमाथि जे जति मुद्दा चल्यो, त्यही नै हो । त्यहाँभन्दा माथि जान खोज्दा कुनै प्रमाण भेटिएन’ अख्तियारका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘मुद्दा नचल्ने निष्कर्ष सहित अनुसन्धान नै टुंगिएको छ ।’
७ जेठ, २०८२ मा अध्यागमनका सहसचिव तिर्थराज भट्टराई पक्राउ परेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो ।
मिलेमतोमा कर्मचारीहरू विमानस्थल अध्यागमनमा पठाउने र त्यसक्रममा लाभ लिनेगरेको आरोपमा तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सहसचिव(पछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका) छविराज रिजाल लगायतहरू मुछिएका थिए ।
अख्तियार २१ मंसिर, २०८२ मा सहसचिव भट्टराई लगायतमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको थियो । त्यतिबेला नै विशेष अदालतमा विवरण पठाएर अख्तियारले पूर्वगृहमन्त्री लेखक लगायतमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
विभिन्न मुलुकहरूमा नेपाली कामदारहरूलाई भिजिट भिसामा पठाउँदा घूस लिने संयन्त्र नै खडा गरेको आरोपमा अख्तियारले सहसचिव भट्टराई लगायतमाथि मुद्दा चलाएको थियो ।
७ जनामाथि भ्रष्टाचार चलाएको उसले तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सहसचिव छविलाल रिजाल लगायतका अरु उच्चपदस्थ अधिकारीहरूमाथि अनुसन्धान चलिरहेको विवरण पठाएको थियो ।
विशेष अदालतले २०७४ सालमा फरक घटनाक्रम, व्यक्ति संलग्न भएको विषयमा छुट्टाछुट्टै आरोपपत्र ल्याउनु भन्ने निर्देशन दिएको थियो । त्यसैलाई आधार बनाएर अख्तियारले कतिपय मुद्दा टुंग्याएर विशेष अदालतमा आरोपपत्र पेश गर्ने गरेको छ ।
