सर्लाही, २८ बैशाख । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको उडान टीके–७२६ मा अवतरणपछि धुवाँ देखिएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई आकस्मिक रूपमा विमानबाट बाहिर निकालिएको थियो ।

यस घटनाको प्रारम्भिक अनुसन्धानले विमानको हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण धुवाँ उत्पन्न भएको जनाएको छ ।

टर्किस एयरलायन्सको काठमान्डौं कार्यालयले पठाएको इमेल अनुसार, टीसी–जेएनपी रजिष्टर नम्बर दर्ता भएको एयरबस ए३३० विमानले काठमाडौंमा सामान्य रूपमा अवतरण गरेको थियो । तर, ट्याक्सी गर्ने क्रममा ल्यान्डिङ गियरबाट धुवाँ निस्किएको देखिएपछि टावरमा रहेका एयर ट्राफिक कन्ट्रोल (एटीसी) को निर्देशनमा सावधानीस्वरूप यात्रुहरूलाई आपत्कालीन स्लाइडमार्फत् बाहिर निकालिएको थियो ।

विमानको दायाँ मुख्य ल्यान्डिङ गियरको टायरमा आगो लागेको (टायर अन फायर) थियो । उक्त आगो विमानस्थलमा रहेको रेस्क्यू एन्ड फायर फाइटीङ जिभिजनले नियन्त्रणमा लिएको थियो ।

टर्किस एयरलाइन्सका प्रवक्ता यह्या उस्तुनले सामाजिक सञ्जाल एक्समार्फत् दिएको जानकारीमा उद्धार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको र घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको बताएका छन् ।

एयरलाइन्सले काठमान्डौंबाट उड्नु पर्ने प्रभावित २ सय ७९ यात्रुहरूका लागि फर्किने उडानका निम्ति अतिरिक्त विमानको व्यवस्था गरिएको जनाएको छ । साथै, प्राधिकृत प्राविधिक टोलीले विमानको विस्तृत प्राविधिक परीक्षण सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *